☰ open Loading... 16 November 2024|  

भीमाको मृत्युबारे संसदमा पनि सत्यतथ्य छानबिन गर्न माग
पश्चिम नेपाल   | ७ बैशाख २०८१, शुक्रबार १९:३१

चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको विषय संसदमा प्रवेश गरेको छ ।

मृत्यु भएको लामो समय भइसक्दा पनि परिवारले शव नबुझेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद रणसिंह परियारले शुक्रबारको संसदमा कुरा उठाएका हुन् ।

‘हिँडेर अस्पताल पुगेकी युवतीको एक्कासी मृत्यु घोषणा गरिएको भन्ने कुरा बाहिर आएको छ,’उनले भने, ‘खास भएको के हो ? यो घटनाले समग्र कर्णाली प्रदेश, जनताहरूलाई प्रभाव पार्ने गरेर घटना आएको छ । अहिले पनि शव अस्पतालबाट उठाउन परिवारले मानिरहेका छैनन् ।’

यसलाई लामो समयसम्म राख्नुले अस्पताल र प्रदेश सरकारमाथि प्रश्न उठ्ने उनले बताए । सत्यतथ्य छानबिन गरेर छिटोभन्दा छिटो उचित व्यवस्थापन गर्न उनले सरकारलाई आग्रह समेत गरे । भीमाका आफन्तहरूले डाक्टरको लापरबाहीकै कारण मृत्यु भएको भन्दै विभिन्न मागहरू राख्दै शव बुझ्न मानिरहेका छैनन् ।

कांग्रेस सांसद घनश्याम भण्डारीले पनि उक्त घटनाको विषयमा कुरा राखेका थिए । ‘प्रदेश अस्पताललाई गौरवको रूपमा मानिएपनि त्यहाँ मृत्युका घटनाहरु भएका छन्,’उनले भने, ‘त्यो मृत्यु डाक्टरहरूको प्राविधिक कारणले भएको हो वा के हो ? त्यो विषयमा छानबिन गरेर अघि बढ्नुपर्छ ।’

-रातोपाटीबाट