जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशको तराई भू–भागका केहि स्थानहरूमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।