☰ open Loading... 27 July 2024|  

बचतकर्ताको रकम घरजग्गामा लगानी, १ अर्बभन्दा बढी अपचलन
पश्चिम नेपाल   | २४ बैशाख २०८१, सोमबार २३:११

ललितपुरको कल्याण उपकार वचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको एक अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

५ वैशाखमा सहकारीको अध्यक्ष लिलाबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, ललितपुरले पहिलो चरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा पठाउने तयारी गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार अहिलेसम्म २८३ जना वचतकर्ताबाट ११० वटा जाहेरी परेको छ । ती जाहेरीहरुमा गरी कुल ५५ करोड १० लाख ७६ हजार ७८१ रुपैयाँ बचत फिर्ता नपाएको दाबी गरिएको छ ।

जाहेरी आउने क्रम जारी रहेकाले पूरक जाहेरी लिएर अनुसन्धान गरी पूरक अभियोग लैजाने प्रहरीको तयारी छ । अहिलेसम्मको अनुसन्धान र जाहेरी आउने क्रमलाई आधार मान्दा एक अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको प्रहरीको निष्कर्ष छ ।

लिलाबहादुर गुरुङ हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलनमा पनि मुछिएका थिए । २ करोड ६० लाख रुपैयाँ अपचलन भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हाम्रो नयाँ कृषिका उपाध्यक्ष गुरुङ सहितका व्यक्तिलाई पक्राउ गरेको थियो । बचकर्ताको रकम फिर्ता गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गर्‍यो र लिलाबहादुर पनि छुटे ।