☰ open Loading... 24 October 2024|  

मतदाताप्रती उत्तरदायी नहुँदा समस्या : उपसभापति खड्का
पश्चिम नेपाल   | ३१ जेष्ठ २०८१, बिहीबार १७:५९

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचकाे सम्बन्ध सुमधुर हुन आवश्यक रहेकाे बताएका छन् ।

उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रती उत्तरदायी नहुँदा समस्या आएकाे बताए ।

`पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र साेही तहका पार्टी प्रतिनिधिबीच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताकाे निर्देशन अनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ,´ बिहीबार नेपाली कांग्रेस दैलेखकाे दाेश्रो जिल्ला सम्मेलनकाे उद्घाटन गर्दै उपसभापति खड्काले भने, `जनप्रतिनिधि पार्टीपंति र जनताप्रति उत्तरदायी हुन जरूरी छ ।´

उनले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई लेखिने गरेर जिम्मेवारी तहमा रहेकाहरू सुध्रिन जरूरी रहेकाे बताए । `जस्ताेसुकै प्रतिकुलताकाे बीचमा पनि जमिनमा बसेर कांग्रेसलाई बचाएर राखेका पार्टीका सदस्यहरू जुनसुकै तहकाे नेतृत्वमा रहेकाहरू सुध्रिएकाे देख्न चाहन्छन्,´ उनले भने, `नेतृत्वमा आएकाे रूपान्तरण देखिने गरि सुधारकाे अभियान कांग्रेसले खाेजेकाे छ ।´
उपसभापति खड्काले मुलुकमा अहिले अप्ठ्यारो परिस्थिति सृजना हुन थालेकाे बताउँदै त्याे परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेकाे बताए । उनले देशकाे विकास र समृद्धिका लागि फेरि कांग्रेसकाे नेतृत्व आवश्यक रहेकाे बताए ।
उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्तावेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावहरूलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेकाे बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए । `उपसभापति, महामन्त्रीलगायतले महासमिति बैठकमा प्रस्तुत गरेका दस्तावेजमा आएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्छ,´ उपसभापति खड्काले भने, `त्यसपछि अहिले देखिएकाे पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुककाे समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ ।´
उपसभापति खड्काले कांग्रेस मिसन-२०८४ तर्फ केन्द्रीत नरहेकाे बताए । उनले कांग्रेस अहिले मिसन २०८१ मै रहेकाे बताए । `देशकाे समृद्धि र विकास कांग्रेसकाे मुल मिसन हाे, त्यहीँ भएर २०८१, २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पुर्याउने भन्नेमा हामी छाैं,´ उनले भने, `यति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ ।´