☰ open Loading... 24 October 2024|  

१३ हजार पर्यटकले गरे रारा भ्रमण
पश्चिम नेपाल   | ३१ जेष्ठ २०८१, बिहीबार १५:२३

जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा ११ महिनाको अवधिमा १३ हजार २६ जना पर्यटकले भ्रमण गरेका छन्।

गत साउनदेखि जेठ अन्तिमसम्म विदेशी २ सय १० जना सार्क मुलुकका ५३ जना र नेपाली आन्तरिक पर्यटक १२ हजार ७ सय ६३ जना गरी कुल १३ हजार २६ जना पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी तथा रेन्जर जयहरि धितालले बताए।

उनका अन’सार गत वर्ष रारा घुम्ने पर्यटकको संख्या करिब ११ हजार रहेको र यो वर्ष वृद्धि भएर १३ पुगेको निकुञ्जले जनाएको छ। सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको संख्यामा बढ्दै जान थालेको छ।

पछिल्लो समय अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन्। हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा आउन रमाउने गरेका छन्।

रारा आउने पर्यटक घोडा चढेर मुर्माटपसम्म पुगेर फर्कने गरेका छन्। रारामा आएका पर्यटक घोडा चढ्ने, डुंगा चढेर तालमा रमाउने, राराका असला माछा अवलोकन गर्ने गरेको निकुञ्जका सूचना अधिकारी धितालले बताए।