☰ open Loading... 24 October 2024|  

बजेटमा कांग्रेस असन्तुष्टि, कर्णाली प्रदेशसभा बैठक बहिष्कार
पश्चिम नेपाल   | ७ असार २०८१, शुक्रबार ०८:२५

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ । कर्णाली सरकारले ल्याएको बजेटमा असन्तुष्ट जनाउँदै कांग्रेसले बिहीबारको प्रदेशसभा बैठक बहिष्कार गरेको हो ।

अर्थमन्त्री महेन्द्र केसीले ल्याएको बजेटमा कांग्रेसले असन्तुष्टि पोख्दै आएको छ । बिहीबार सभामुख नन्दा गुरुङले प्रदेशसभा बैठकको कारबाही प्रारम्भ नगर्दै कांग्रेस सांसदहरूले बाहिरिएका हुन् ।

कांग्रेस सांसदहरूले प्रदेशसभा हलबाट बाहिरिँदा मुख्यमन्त्री यामलाल कँडेल र अर्थमन्त्री महेन्द्र केसी मुस्कुराइरहेका थिए । कांग्रेसले बहिष्कार गरेपछि सभामुख गुरुङले प्रदेशसभा बैठक असार १२ गतेसम्मका लागि स्थगित गरिन् ।

सरकारका बजेटप्रति कांग्रेस मात्र नभई सत्ता पक्षका सांसदहरूले पनि असहमति जनाएका छन् । यसअघि कांग्रेसले बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।

पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस सांसद बेदराज सिंहले सरकारले रकम एउटै ठाउँमा थुपारेको, १५ लाख मुनिका योजना तर्जुमा गर्ने, विकट पालिकामा विशेष अनुदान नदिएको, कसैलाई समपूरक पनि नदिएकाले कांग्रेसको बजेटमा असन्तुष्टि रहेको बताए ।

हाम्रा योजना भए, नभए भन्ने हैन हिजो उहाँ (मुख्यमन्त्री) प्रतिपक्षमा हुँदा उठाएका विषयहरू नै सच्चिएर आएनन्,’उनले भने, ‘हाम्रो माग भनेको हिजोदेखि उहाँले उठाएका कुराहरू सुधार गर्दै जानुस् भन्ने हो ।’ उनले सामाजिक विकास मन्त्रालयले ‘एक पालिका एक विद्यालय’को अवधारणा हटाएको बताए ।