☰ open Loading... 24 October 2024|  

२ सय ३७ स्थानीय तहमा प्रमुख प्रशासयिक अधिकृत छैनन्
पश्चिम नेपाल   | ९ असार २०८१, आईतवार ०८:३६

१० उपमहानगरपालिकासहित २ सय ३७ स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले नै २ सय ३७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएको जानकारी दिएका हुन्।

११ वटा उपमहानगरपालिकामध्ये नेपालगन्ज उपमहानगरपालिकामात्रै दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत छन्। हेटौंडा उपमहानगरपालिकाबाट पनि हालै प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन्। धनगढी, तुलसीपुर, घोराही, बुटवल, सिमरा–जितगढी, कलैया, जनकपुर, धरान, इटहरी उपमहानगरपालिका निमित्तका भरमा चलिरहेका छन्।

मन्त्री जोशीले ६ वटा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेको जानकारी दिए। महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुन्छन्। ६ महानगर र १ उपमहानगर गरी ७ जना मात्रै सहसचिव कार्यरत छन्।

संघीय मामिला मन्त्रालयका अनुसार १० उपमहानगर, १ सय १६ नगरपालिका र १ सय ११ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छैनन्। सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका धेरै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन्। कर्मचारीको दुर्गम जान नचाहने प्रवृत्ति र जनप्रतिनिधिले अनावश्यक दबाब दिने प्रवृत्तिले स्थानीय तहमा जान कर्मचारी चाहँदैनन्।

अन्नपूर्णपोष्टबाट