☰ open Loading... 24 October 2024|  

सुर्खेतको भेरीगंगामा बहुमत सदस्यले नगर सभा गरे बहिष्कार
पश्चिम नेपाल   | १० असार २०८१, सोमबार १६:४६

भेरीगंगा नगरपालिकाको १५ औं नगरसभा स्थगित भएको छ। नगरसभामा गणपुरक संख्या नपुगेपछि आज नगरसभा स्थगित गरिएको हो । कार्यपालिका सदस्यहरुले नगरप्रमुख यज्ञ प्रसाद ढकालले एकलौटी गरेको साथै आफूहरुसँग छलफल नगरेको भन्दै नगरसभा बहिष्कार गरेका थिए ।

उनीहरू नगरसभामा उपस्थित नभएपछि गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख ढकालले नगरसभा स्थगित गरेको जानकारी दिए। बहिष्कार गर्ने कार्यपालिका सदस्यहरुले नगरप्रमुख ढकालले नीति तथा कार्यक्रममा आफूहरुसँग छलफल नगरी एकलौटी गरेको आरोप लगाएका छन् ।

भेरीगंगा नगरपालिकाका कार्यपालिका सदस्य शेर बहादुर कामीले नगर प्रमुख ढकालले जुनसुकै कुरामा पनि मनोमानी गरेको आरोप लगाए । उनले प्रमुख ढकालले आफूहरुले दिएका प्रश्नको जवाफ नदिने, वडामा बजेट बढी माग गर्दापनि उहाँले कुनै सुनुवाई नगरेको आरोप लगाए । उनले नगरप्रमुख ढकाल भेरीगंगालाई कमजोर बनाउनतर्फ अग्रसर भएको बताए ।

यस्तै भेरीगंगा १२ का वडा राम बहादूर डाँगीले पनि नगरप्रमुखले एकलौटी गरेको, भेरीगंगालाई कमजोर गराउने बाटो रोजेको आरोप लगाए । ‘ हामीले १३ वडाहरूमा एउटा वडालाई एक करोड बजेट माग गरेका थियौ ।’ उनले भने, ‘तर नगर प्रमुखले भने १३ वडालाई जम्मा ७ करोड मात्रै बजेट दिने कुरा गर्नुभयो ।’ त्यहीभएर पनि हामी नगरसभामा गएनौं।’

यस्तै कार्यपालिका सदस्य अमृता विष्टले पनि आफूहरुले नगरसभा बहिष्कार गरेको जानकारी दिइन्। यता नगरप्रमुख ढकालले भने उनीहरुले लगाएका आरोप सबै झुटो भएको बताए । उनले नगरसभा बहिष्कार गर्नुभन्दापनि छलफल गर्नुपर्ने बताए ।

भेरीगंगामा जम्मा २३ जना कार्यपालिका सदस्य रहेकोमा १८ जनाले बहिष्कार गरेका छन् । नगरसभा बहिष्कार गर्नेहरूमा नेपाली कांग्रेस र नेकपा माओवादीका निर्वाचित जनप्रतिनिधि रहेका छन् ।