☰ open Loading... 24 October 2024|  

चामुण्डाविन्द्रासैनीमा नाराजुलुश, नगर सभा स्थगित
पश्चिम नेपाल   | १० असार २०८१, सोमबार १९:१५

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नगरसभा स्थगित भएको छ । नगरसभा उद्घाटन भएलगत्तै नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने नगर सभा सदस्यहरुको नारा जुलुशका कारण नगर सभा स्थगित भएको हो ।

नेमकिपा र एमालेबाट नगर सभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले बजेट बाँडफाडमा अनियमितता भएको भन्दै नगरसभा रोक्न नाराजुलुश गरेका छन् । जसका कारण उद्घाटन लगत्तै असार १८ गतेसम्मका लागि नगरसभा स्थगन गरिएको छ ।

नगर सभा हुनुअघि कार्यपालिकाको बैंठकबाट बजेट लगायतका विषयमा हुनुपर्ने छलफल समेत नगरि सिमा निर्धारण समितिले बजेट बडामा पठाएको भन्दै आफुले विरोध गर्नुपरेको चामुण्डाविन्द्रासैनी नगरपालिका ७ का वडाअध्यक्ष ईन्द्र चौलागाईले बताए । ‘कार्यपालिका बैठकमा नबोलाएर बजेट सिलिग वडामा पठाईएको छ । वडाअध्यक्ष चौलागाईले भने, सिमा निर्धारण समिति कार्यपालिका बैठकभन्दा माथि कसरी हुन्छ ।’ बलमिच्याई तरिकाले सभा चलाउन खोजिएपछि आफुहरुले रोकेको र नगर सभाका सदस्यहरुलाई ७ दिन अघि नै बोलाउनुपर्नेमा नबोलाईएको आरोप चौलागाईले लगाए ।

नगर सभामा आफुहरुलाई प्रहरी लगाएर प्रवेशमा रोक लगाईएको दुखेसो वडाअध्यक्ष चौलागाईले गरे । चौलागाई नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधित्व गर्छन् ।

सहमति सहकार्यबाट अगाडी बढ्नुपर्छ भन्ने चाहना हुँदा हुँदै पनि सहमति विना नगर सभा तानाशाह प्रवृती एकल रुपमा उद्घाटन गरेको आरोप वडा नम्वर ५ वडाअध्यक्ष हरिप्रसाद शर्माले लगाए । ‘नगरसभामा बजेट टुक्रएर योजना सहित जाने कुरा थियो ।’ वडाअध्यक्ष शर्माले भने, आफुखुसी नगर सभा चलाउन खोजेको पाईयो । सहमति अनुसार बजेट बाडँफाड भएमा सभा सञ्चालन हुन्छ ।’

असार ७ गतेदेखि कार्यपालिका बैठक चलेको छ । त्यहाँ केही कार्यपालिका सदस्यहरु सहभागी नहुँने निर्णय गरेको र ज्ञापनपत्र मार्फत नगरसभा स्थगनको माग समेत केही कार्यपालिका सदस्यले गरेको पाईएको छ ।

नगर सभा उद्घाटनपछि नाराजुलुशसहित नगर सभा सदस्यहरुको विरोधपछि १८ गतेसम्मलाई स्थगित गरिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर उपप्रमुख मन्सरा कुमारी शर्माले बताईन् । नगर सभा स्थगन भएपछि सहमति खोज्ने प्रयासहरु भईरहेको शर्माको भनाई छ ।