☰ open Loading... 24 October 2024|  

सिचाई नहुँदा कर्णालीमा रोपाइँ भएन्
पश्चिम नेपाल   | १५ असार २०८१, शनिबार १५:१५

कर्णालीमा सिचाई सुविधा नहुँदा रोपाई हुन सकेको छैन् । सरकारले सिचाई कुलो र नहरलाई प्राथमिकता नदिदाँ किसानहरु आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने बाध्यतामा रहेका छन् ।

मध्य असारसम्म कर्णालीमा आधा पनि धान रोपाइँ हुन सकेको छैन । वर्षा हुन ढिलाइ भएपछि यो वर्ष धान रोपाइँ समयमा हुन नसकेको हो । अघिल्लो वर्षसम्म यति बेलासम्म आधाभन्दा बढी धान रोपाइँ भइसक्थ्यो । यद्यपि यो वर्ष ४७ प्रतिशतको हाराहारीमा मात्रै धान रोपाइँ भएको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार जुम्लामा ९० प्रतिशत धान रोपाइँ सकिएको छ भने सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा जम्मा ५ प्रतिशत धान रोपाइँ भएको छ । सुर्खेतमा धेरै ठाउँहरू आकाशे पानीमा निर्भर हुन्छन् । विशेष गरी खोला किनार र सिँचाइ सुविधा भएको ठाउँहरूमा धान रोपाइँ भइरहेको र आकाशे पानीमा भर पर्नुपर्नेमा बाँकी रहेको अधिकारीले रातोपाटीलाई बताए ।

जुम्लामा जेठ महिनादेखि नै धान रोपाइँ हुन्छ । जुम्लाका कतिपय ठाउँमा यतिबेला धान गोडमेल भइरहेको छ । जुम्लामा धाने जिउलाहरू हिमा र तिला नदी आसपासमा छन् । नदीको पानी प्रयोग हुने भएकाले अधिकांश ठाउँमा खेत रोपिसकेको छ ।

यस्तै दैलेखमा २७, जाजरकोटमा ३२, रुकुम पश्चिममा ३०, सल्यानमा ५२ प्रतिशत जमिनमा रोपाइँ भएको छ । यस्तै हिमाली जिल्लाहरू डोल्पा, हुम्ला र मुगुमा क्रमशः ८०, ८० र ७० प्रतिशत धान रोपाइँ भएको छ । यस्तै कालिकोटमा १५ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । प्रदेशभर करिब ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।