☰ open Loading... 24 October 2024|  

सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
पश्चिम नेपाल   | १७ असार २०८१, सोमबार ०७:१९

सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ लुहाम बजारमा रहेको संस्थागत विद्यालय सल्यान पब्लिकका शिक्षक चक्रबहादुर डाँगीको कुटाईबाट कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अरुण बिक घाइते भएका हुन् ।

चकचक गरेको भन्दै शिक्षक डाँगीले फलामको स्केल प्रहार गर्दा बालक बिकको टाउकोमा गहिरो चोट लागेको छ । शिक्षक डाँगीले फलामको स्केल प्रहार गर्दा छोराको टाउको काटिएको आमा तुलसा बिकले बताइन् । घाइते अरुणलाई जिल्ला अस्पताल सल्यानमा उपचारपछि घर लगिएको छ ।

कक्षाकोठामा पढ्दै गरेका छोरालाई कुटपिट गर्ने शिक्षक चक्रबहादुर डाँगीको बारेमा प्रिन्सिपललाई जानकारी गराउँदा बेवास्ता गरेपछि कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको उनले जानकारी गराइन् । ‘शिक्षक डाँगीले ३ वर्षको उमेरमा छँदा छोरालाई कुटपिट गरेका थिए । त्यो बेला मैले त्यसलाई खासै चासो दिइन् । अहिले पनि त्यही शिक्षकले कुटपिट गरेर घाइते बनाएका छन्,’ उनले भनिन्, ‘चकचक गरे सम्झाउनुको साटो स्केल प्रहार गरेर घाइते बनाउनु कति उचित हो ?’

त्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश आचार्यले विद्यार्थी कुटपिटका विषयलाई लिएर सोमबार पीडित पक्ष, पालिका र निजी विद्यालयका शिक्षक, प्रिन्सिपललाई राखेर छलफल गरिने बताए । दोषी देखिए शिक्षक डाँगीमाथि कारबाही गरिने उनले बताए ।