☰ open Loading... 24 October 2024|  

रक्सीकै कारण बर्सेनि २० लाखभन्दा धेरै पुरुषले गुमाइरहेछन् ज्यान
पश्चिम नेपाल   | १७ असार २०८१, सोमबार ०७:१२

विश्वभर रक्सी सेवनका कारण मर्नेको सङ्ख्या निकै धेरै छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरेक वर्ष संसारभर कूल २६ लाख जनाको मृत्यु मदिरा सेवनका कारण हुने गरेको छ । मदिरा र लागु पदार्थको प्रयोगका कारण हुने विकारको उपचार सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

यो भनेको बर्सेनि विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । लागु औषधका कारण बर्सेनि ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा ४ लाख पुरुष रहेका छन् । प्रतिवेदन रक्सी र लागु औषध सेवनले जनस्वास्थयमा पारेको प्रभाव र विश्वभर रक्सीको सेवन र मादक पदार्थको सेवनले निम्तने विकारको उपचारबारे २०१९ डेटामा आधारित बृहत् अपडेट हो ।

रिपोर्टका अनुसार विश्वभर ४० करोड मानिस रक्सी र लागूपदार्थको प्रयोगका कारण उत्पन्न हुने विकारबाट पीडित छन् । तीमध्ये २० करोड ९० लाख मानिस रक्सीको लतमा बाँचिरहेका छन् । ‘मादक पदार्थको सेवनले व्यक्तिगत स्वास्थ्यमा गम्भीर रूपमा क्षति पुर्‍याउँछ । यसले पुराना रोग, मानसिक रोगको अवस्था बिगार्ने जोखिम त छ नै बर्सेनि लाखौँ मानिसको मृत्यु पनि भइरहेको छ । जसलाई रोक्न सकिन्छ । यसले परिवार र समुदायमा ठुलो बोझ थोपर्छ, दुर्घटना, चोट र हिंसाको जोखिम पनि बढाउँछ,’ डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले प्रतिवेदनमा भनेका छन् ।

स्वस्थ, अधिक समतामूलक समाज बनाउने हो भने तत्कालै मदिरा सेवन गर्दा हुन सक्ने नकारात्मक स्वास्थ्य र सामाजिक परिणामहरू कम गर्ने र लागू औषध सेवनका कारण हुने विकारको उपचारलाई सुलभ र किफायती बनाउने खालका साहसिक कार्य गर्न हामीहरू प्रतिबद्ध हुनु पर्ने पनि उनले बताएका छन् ।