☰ open Loading... 30 January 2025|  

जुम्लामा लागुऔषध प्रयोग बढ्दो
पश्चिम नेपाल   | १५ पुष २०८१, सोमबार १४:२१

म्लामा लागुऔषध प्रयोग बिक्रेता चिन्ताजनक रूपले बढ्दै गएको छ। केही वर्षयता सडक सञ्जाल जोडिएसँगै लागुऔषध सहजै जुम्ला भित्रिने गरेको छ।

ब्राउन सुगरलगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर–किशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। लागुपदार्थ कारोबारमा बढी युवाहरूको संलग्नता रहेको प्रहरीको तथ्यांकले देखाएको छ। सुर्खेत र नेपालगन्जबाट बढी मात्रामा लागुऔषध भित्रिने गरेको छ।

यस्तै जुम्ला प्रहरीले एक हप्तामा लागुऔषध सेवनकर्ता तथा बिक्रेता सातजनालाई नियन्त्रणमा लिएको छ। गत पुस १२ गते तातोपानी गाउँपालिका–५ लाम्रागाउँका वर्ष २९ का नन्दलाल सार्की, सोही बस्ने वर्ष २० का पंकज सार्की र उक्त गाउँका वर्ष २० का प्रवेश नेपालीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदीलाल बताए। पक्राउ परेका तीनजनाबाट २४ पुरिया लागुऔषध ब्राउन सुगर फेला परेको छ।

प्रहरीले नियन्त्रणमा लिएका तीनजनालाई आवश्यक अनुसन्धान भइरहेको छ। लागुऔषध सेवनकर्ता तीनजनाले जुम्लाको सिंजा गाउँपालिका– २ बस्ने जीवन खत्रीबाट लागुऔषध किनेका आधारमा निजलाई समेत प्रहरीले पक्राउ गरेको हो। सेवनकर्ता र बिक्रेतासहित चारजनालाई कानुनअनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ।

गत पुस ६ गते चन्दननाथ– ९ उमगाड बस्ने वर्ष २० का सुनिल कामीलाई एक पुरिया ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। यसैगरी, तातोपानी गाउँपालिका– ६ का रोशन कठायत र सुरेन्द्र डाँगीको साथबाट चार पुरिया ब्राउन सुगरसहित पक्राउ परेका छन्।

चालु आर्थिक वर्षको अहिलेसम्म लागुऔषधका ११ वटा, चरेसका दुईवटा र ट्रामाडोल एकवटा गरी कुल १४ वटा मुद्दा दर्ता भएका छन् भने २८ जना प्रतिवादी पक्राउ परेको प्रहरी कार्यालय जुम्लाले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा पाँच र २०७८/०७९ मा सातवटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७९/०८० मा १२ वटा मुद्दा दर्ता भएका छन्।

विगत दुई आर्थिक वर्षको तथ्यांकलाई तुलना गर्दा गत आर्थिक वर्षमा उक्त संख्या दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधका पाँचवटा मुद्दा दर्ता गरेको छ। पाँचवटा मुद्दामध्ये ब्राउन सुगरका चार र एकवटा चरेसको मुद्दा दर्ता भएको छ। ६ सय ८० मिलिग्राम ब्राउन सुगर र एक सय चार ग्राम चरेस बरामद भएको उनको भनाइ छ। दुईजना महिला र दुईजना पुरुष अहिले पनि फरार अवस्थामा छन्।

लागुऔषध सेवन तथा कारोबार गर्ने १८ देखि ४० वर्ष उमेर समूहका बढी रहेका छन्। १८ वर्षमुनिका एकजना र बाँकी १५ जना १८ देखि ४० वर्ष उमेर समूहका बढी छन्। यस्तै आर्थिक वर्ष २०७८/०७९ मा सातवटा मुद्दा दर्ता भएको उनले बताए। उक्त मुद्दामा १८ वर्षमुनिका दुईजना र १८ देखि ४० वर्षसम्मका १२ जना छन्। उनले चरेस ७६.६ सय २० ग्राम, ब्राउन सुगर एक सय पाँच मिलिग्राम र ट्रमाडोल र कोलोनोजेपाम दुई सय ४१ पिस बरामद गरिएको थियो।

यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १२ वटा मुद्दा दर्ता भएका छन्। १२ वटा मुद्दाका ३० जनामध्ये महिला एकजना छन्। अरू सबै पुरुष हुन्। सातजना फरार रहेका छन्। ३० जनामध्येबाट चरेस दुई ग्राम एक सय ९० मिलिग्राम, ब्राउन सुगर १३ ग्राम ९३ मिलिग्राम, गाँजा १५ ग्राम ८२ मिलिग्राम र नाइट्राभेट ट्याब्लेट ३४ वटा बरामद भएको छ। पछिल्लो समयमा ट्रमाडोल नामक ट्याब्लेट प्रयोग गर्नेको संख्या बढी छ।

भारतको रूपैडिया नाकाबाट सहजै उक्त ट्याब्लेट आउने भएकाले नेपाली बजारमा रहेको मेडिकलबाट किनेर सेवन गर्नेको संख्या बढी रहेको पाइन्छ। जुम्लामा पनि यो ट्याब्लेट प्रयोग गर्नेको संख्या बढ्दो अवस्थामा छ। लागुऔषधको बढ्दो प्रयोग समाज र सबैका लागि ठूलो चुनौती र चिन्ताको विषय बनिसकेको छ।

कर्णाली राजमार्गअन्तर्गतका विभिन्न नाकामा व्यापक रूपमा लागुपदार्थ भित्रिरहेकाले प्रहरीले सीमामा निगरानी राख्नुपर्ने देखिन्छ। लागुऔषध नियन्त्रण ऐन, २०३३ को परिच्छेद– ३ मा भएको व्यवस्थाअनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजारसम्म जरिवानाको व्यवस्था गरेको छ।

२५ वटा बोटसम्म गाँजा खेती गर्ने व्यक्तिलाई तीन महिना कैद वा तीन हजारसम्म जरिवाना र २५ बोटभन्दा बढी गाँजा खेती गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

यस्तै बारम्बार अपराध गर्नेलाई थप सजाय हुने पनि उक्त ऐनमा व्यवस्था छ। एकपटक सजाय पाइसकेको व्यक्तिले पुनः अपराध गरेमा थप पाँच वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवाना हुने लेखिएको छ।