☰ open Loading... 26 April 2024|  

‘प्रहरी मेरो साथी’ अभियान सुरु
  | २७ असार २०७३, सोमबार ०४:०२

शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले सोमबारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । सरकारको आर्थिक वर्ष २०७२ र ७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको अनुसार उक्त अभियान सुर्खेत, दैलेख, जाजरकोटसहित देशभर एकै साथ सञ्चालनमा आएको हो ।

नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ । विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ ।

समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउनु अभियानको लक्ष्य छ । नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो । नेपाली समाज नै मुख्य कार्यथलो रहेको प्रहरीको समाजमा शान्ति सुव्यवस्था कायम गर्नु नै प्रमुख दायित्व हो ।

पुनरावेदन अदालतका सुर्खेतका मुख्य न्यायधीस तेजबहादुर केशीले अभियानको शुभारम्भ गरेका थिए । उनले प्रहरीले समाजमा पूरा गर्नुपर्ने दायित्व र परिवर्तनको मूल्यय मान्यतालाई संस्थागत गर्न ‘प्रहरी मेरो साथी’ अभियानले समाजमा योगदान पु¥याउने विश्वास गरेका छन् ।

उनले यो अभियानले नागरिकमा शान्ति, सुरक्षा र समाजको विकास निर्माणमा पनि निकै सहयोग पुग्ने बताएका छन् । तर मुख्यन्यायधीस केसीले अभियानलाई नारामा सीमित नगर्न प्रहरीलाई सुझाव दिएका छन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआईजी माधव नेपालले आम नागरिकले सम्झौता गर्न नसक्ने शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले दिएको सेवा र जनताको आकाङ्क्षाबीच देखिँदै आएको दरारलाई पुर्न अभियान सञ्चालनमा ल्याइएको बताएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुर जंग मल्लले हालसम्म जिल्लामा गरेका प्रहरी गतिविधिको बारेमा जानकारी दिएका थिए ।

यसैविच, जाजरकोटको सदरमुकाम खलंगामा ¥यालीसहित अभियानको उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विगतमा प्रहरीला हाउगुजीका रुपमा रहेको स्मरण गर्दै पछिल्लो समय प्रहरी र जनताको बीचमा सहकार्य भई विभिन्न कार्यक्रम भईरहेको बताए ।

प्रहरी र नागरिकको सम्बन्ध थप समधुर बनाउन, प्रहरीप्रतिको विश्वास बढाउन यो अभियानले सहयोग पुग्ने विश्वास अधिकारी गौतमको छ । भयरहित वातावरणमा क्रियाकलाप गर्न, आपतविपमा सहयोग गर्न, र राज्यले परिकल्पना गरेको शान्ति सुव्यवस्था कामय गर्न प्रहरी र नागरिकको सम्बन्ध घनीभूत हुनुपर्ने उनको भनाई छ ।

प्रहरीलाई साथी बनाउन सकेको खण्डमा अपराधिक क्रियाकलाप कम हुने प्रजिअ गौतमले दावी छ । यस्तै प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले समाजमा हुने विभिन्न किसिमका अपराध कम गर्न यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । हिजोका दिनमा जिल्लामा शान्ति, सुव्यवस्था कायम गर्न नागरिक तहबाट भएको सहयोग निरन्तर भए अभियान सफल हुने उनको भनाई छ ।

यता, जिल्ला प्रहरी कार्यालय दैलेखमा पनि झाँकी सहित नगर परिक्रम गरेर अभियानको उद्घाटन गरेको छ । जिल्ला न्यायाधिक प्रकाशप्रसाद पण्डितले प्रहरी मेरो साथी कार्यक्रमको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नागरिक समाज, कार्यालय प्रमुखहरु, स्थानीयहरु, शिक्षक विद्यार्थी लगायतको सहभागीता रहेको थियो । दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर ओलीले प्रहरी मेरो साथी कार्यक्रमले जनतासंग प्रहरीको सम्वन्ध प्रगाड हुनुका साथै अपराध घटाउन कोशेढुंगा सावित हुने बताएका छन् । सहभागीहरुले प्रहरीप्रति भरोसाको चित्रण भएको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।