☰ open Loading... 23 October 2024|  

माछा हिडेपछि…..
  | २४ भाद्र २०७३, शुक्रबार १८:१८

हिन्दु धार्मिक ग्रन्थअनुसार भगवानको पहिलो अवतार माछा हो । त्यसपछि जमिन र पानी दुवैमा बाँच्न सक्ने कछुवाको अवतार भयो । अनि मात्र जमिनमा पूर्ण रूपले बाँच्न सक्ने बँदेल, सानो कदको मानिस हुँदै अन्त्यमा पूर्ण आकारको मानिसका रूपमा भगवानले अवतार लिएको चामत्कारिक कथा धर्मग्रन्थमा पढ्न पाइन्छ ।

केही विद्वानले धार्मिक ग्रन्थको कथा र विज्ञानको ‘क्रमिक विकास सिद्धान्त’ (इभोलुसनरी साइन्स) उस्तै रहेको दाबी गर्दै आएका थिए । पछिल्लो अनुसन्धान नतिजाले यो दाबी प्रमाणित गरेको वैज्ञानिकहरूको भनाइ छ ।

waking fish

करिब ३७ करोड ५० लाख वर्षअघि समुद्रमा पौडने माछा नै जमिनमा हिँडडुल गर्नसक्ने मेरुदण्ड भएका स्तनधारी जन्तुमा विकसित भएको वैज्ञानिक दाबी छ । मान्छेको उत्पत्ति माछाबाट भएको हुनसक्ने बलियो आधार फेला परेको उनीहरूले बताएका छन् ।

वैज्ञानिकले पहिल्याएका ती आधार हुन् । मानिस र माछा दुवैमा समान रूपले विकास हुने भ्रुण, बाडुली लाग्ने प्रक्रिया र नाकको ठिकमुनि माथिल्लो ओठमा देखिने खोबिल्डा उनीहरूका लागि गहन प्रश्न हो– कसरी सम्भव हुन सक्यो समुद्रमा उद्भव भएर जमिनमा फैलिएको माछाको चामत्कारिक बसाइसराइ ?

अहिलेसम्म वैज्ञानिकले यो खोजका निम्ति समुद्रमा विकसित भएका र जमिनमा बाँच्न सक्ने ‘मध्यम’ जन्तुका अवशेष अध्ययन गर्दै आएका थिए ।  तर, हालै थाइल्यान्डमा आँखा नदेख्ने प्रजातिको यस्तो माछा भेटिएको छ, जो मेरुदण्ड भएका चारखुट्टे स्तनधारी जन्तुजस्तै हिँडेरै झरनामा उक्लन सक्छ ।

इभोलुसनरी साइन्सको अनुसन्धानमै सनसनी मच्चाएको यो माछाको खोजलाई विश्वभरका प्रमुख मिडियाले निकै महत्व दिएका छन्। न्यूयोर्क टाइम्सले त यसबारे पहिलो पृष्ठमै लामो समाचार छापेको छ ।

अमेरिकाको न्युजर्सी इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकले ‘नेचर साइन्स रिपोर्ट’ नामको जर्नलमा हातखुट्टा भएको जन्तुजस्तै हिँड्नसक्ने उक्त माछाको गतिविधिबारे विस्तारपूर्वक लेखेका छन् ।

‘पूर्ण अन्धकारमा उक्त प्रजातिका माछा ढुंगामा टाँसिन्छन् र हिँडेरै झरनामाथि उक्लन्छन्,’ अनुसन्धानमा संग्लग्न वैज्ञानिक ब्रुक फ्लाम्याङ भन्छिन्, ‘स्तनधारी जनावरको जस्तै यो माछाको मेरुदण्ड र कम्मरको हड्डी छ, जुन आपसमा जोडिएका छन् ।  यसले माछालाई गुरुत्वाकर्षणविरुद्ध आड दिन्छ र हिँड्न मांसपेसी प्रदान गर्छ ।’

उनका अनुसार अन्य कुनै पनि माछाका प्रजातिमा यस्तो गुण हुँदैन । सुख्खा भुइँमा छाडिदिँदा माछा असहाय भएर छट्पटाउँछ। यसको एउटा कारण हो, माछाका पखेटाले पानीमा पौडन मात्र काम गर्छ, सोझै गुरुत्वाकर्षणविरुद्ध काम गर्न सक्दैन । जबकि यो माछामा त्यो शक्ति पनि छ ।

स्रोत एजेन्सीकोे सहयोगमा