☰ open Loading... 5 May 2024|  

विद्यार्थीले पाउने छात्रवृत्तीमै अनियमितता
  | १३ आश्विन २०७३, बिहीबार १७:५५

विद्यार्थीहरुले पाउने छात्रवृत्तिमा अनियमितता भएको पाईएको छ । सल्यानको घाँजरीपिपल ७ मा रहेको कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीले पाउने छात्रवृत्तिमा अनियमितता भएको पाईएको हो ।

school
विद्यालयका विद्यार्थीहरुले विगत दुई वर्षदेखि छात्रवृति पाउन सकेका छैनन् । विद्यालय प्रशासनको चरम लापरवाहीले दुई वर्षदेखि आफुहरुले छात्रवृति पाउन नसकेको विद्यार्थीहरुको गुनासो छ ।

आर्थिक वर्ष २०७१÷२०७२ मा जिल्ला शिक्षा कार्यालय सल्यानले छात्रवृतिको रकम विद्यालयको खातामा ६१ हजार राखिदिएको भएपनि छात्रछात्राहरुलाई विवरण नगरिएको विद्यार्थीहरुले बताएका छन् ।

आ.व. २०७२÷२०७३ को छात्रवृति पनि विद्यालय प्रशासन र स्रोत व्यक्तिको लापरवाहीका कारण शिक्षा कार्यालयमा माग फारम पेस नै नगरेका कारण जेहेन्दार तथा गरिब विद्यार्थीहरु राज्यले दिएको सेवा सुविधाबाट बञ्चित भएको विद्यालयमा अध्ययनरत छात्रा विमला पुरीले जानकारी दिईन् ।

‘हामी जस्ता गरिब र जेहेन्दार विद्यार्थीका लागि भनेर राज्यले लाखौं पैसा दिइरहेको हुन्छ ।’ उनले भनिन्,–‘तर विद्यालय प्रशासनको लापरवाहीका कारण उक्त सेवासुविधा पाउनबाट हामीजस्ता छात्रछात्राहरु बञ्चित हुनु परेको छ ।’

छात्रवृतिका लागि आएको रकम विद्यालय प्रशासनले पुस्तक खरिदमा परिचालन गरेको पाइएको छ । पुस्तकको रकम कम आएका कारण छात्रवृतिमा आएको रकम पुस्तक खरिदमा खर्च भएको विद्यालयका प्रध्यानाध्यापक अशोक शाहले बताए ।

तर कक्षा ९ र १० को ऐच्छिक विषयको पुस्तक आफैले किनेको कक्षा १० मा अध्ययनरत विद्यार्थी शिरिष विकले बताएका छन् ।