☰ open Loading... 24 October 2024|  

मह खान जाजरकोट जाऔं !
  | ७ कार्तिक २०७३, आईतवार ११:१३

मह मन नपर्ने कमै होलान् । खाँदा मिठो मात्र होइन मह स्वास्थ्यको दृष्टिले पनि उत्तिकै महत्वपुर्ण छ । महमा धेरै औषधिय गुण हुन्छन् । तर, अचेल मह पाउन सजिलो छैन । अझ शुद्ध र अर्गानिक मह पाउनु त आक्कलझुक्कल जस्तो मात्र भइसकेको छ ।

honey-1
अग्र्यानिक मह उत्पादनको उर्वर थलो जाजरकोटमा यस वर्ष मह मह महोत्सव हुँदैछ । यो वर्षलाई मह वर्षको रुपमा मनाउने तयारी गरिएको हो । कात्तिकको अन्तिम हप्तादेखि मंसिरको पहिलो हप्तासम्म काढिने कात्तिके महको नामले प्रख्यात जाजरकोटको मह अत्यन्तै मिठो हुन्छ ।

जिल्लामा मह उत्पादन बढाउने र उत्पादित महको बजार व्यवस्थापनका लागि सहयोग गर्न मंसिरमा मह महोत्सव मनाउने तयारी गरिएको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

honey-2
महको बजार व्यवस्थित गर्न जिल्लाका विभिन्न ठाउँमा मह संकलन केन्द्र र कोशेली घर स्थापना तथा निर्माण गर्नु तथा त्यहाँ चाहिने उपकरणको व्यवस्थापन गरिने मह महोत्सव तयारीका लागी बनाइएको कार्ययोजनामा उल्लेख छ ।

साथै यसै वर्ष जिल्लामा भएका घरपालुवा तथा जंगलमा रहेका मौरीको तथ्याङ्क संकलन समेत गरिनेछ । व्यवसायिक किसानलाई मेलिफेरा मौरी पालनको अध्ययन भ्रमण गराउने समेत कार्ययोजनामा उल्लेख छ ।

मौरी र मह उत्पादनका लागि मध्यपश्चिमकै सम्भावनायुक्त जाजरकोट जिल्लामा उत्पादित महको बजारीकरणलाई गर्न यसवर्ष मह वर्ष मनाउन लागिएको वरिष्ठ कृषि विकास अधिकृत डा।श्रीराम घिमिरेले बताउनुभयो ।

महलाई अन्तर्राष्ट्रिय बजारीकरण गर्न अन्तर्राष्ट्रिय स्तरकै प्रमाणिकरण गर्न पहल गरिने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय स्तरमै महको बजारीकरण गर्न महमा शुद्धता हुनुपर्ने भएकाले महको शुद्धताका लागि यसवर्ष जिल्लाका सबै मौरीपालकलाई तालिम दिइने र किसानलाई महको ग्रिडिङ्ग र प्याकेजिङ्ग गर्न पनि सिकाइनेछ ।

जाजरकोटमा घर मौरीसँगै भीर मौरीको मह पनि धेरै उत्पादन हुने गरेको छ । जाजरकोटमा गएको वर्ष ४३ मेट्रिक टन मह उत्पादन भएको थियो । माहुरीका लागि उचित वासस्थान भएको जाजरकोटमा मह उत्पादन व्यवसायलाइ प्रवद्र्धन गर्न सके अहिलेभन्दा दोब्बर मह उत्पादन गर्न सकिने भएकोले मह महोत्सवको आयोजना गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत डा. घिमिरेले वताउनुभयो । महोत्सवको मिति भने केही दिनमै तय हुने कार्यालयले जनाएको छ ।

मह वर्षका अवसरमा जिल्लामा उत्पादित सबै मह संकलन गरेर सदरमुकाम खलंगा र अन्य मुख्य बजारमा बिक्री एवम प्रदर्शन केन्द्र राखिने छ । अहिले जिल्लाका खलंगा, लहँ, डाडागाउँ, झाप्रा, मजकोट र कोर्ताङ गाविसलाइ मौरी पकेट क्षेत्रको रुपमा घोषणा गरी व्यवसायिक मह उत्पादन अघि वढाइएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी मुकेश रामजाली नेपालीले जानकारी दिनुभयो ।

उचित बजार नपाउँदा अझै माहुरी पालनलाई बिस्तार गर्न नसकिएको र उचित बजार उपलब्ध हुन सके किसानको आम्दानी र रोजगारी बढाउन सकिने खलंगाको रिसाङका मौरीपालक किसान बलराम शर्माले बताउनुभयो ।

डाडागाउँ–२ का सेते वुढाले पनि गाउँमा मह उत्पादनमा आकर्षण बढेपनि बजार त्यसअनुसार बढ्न नसकेको अनुभव सुनाउनुभयो । आफूहरुले उत्पादन गरेको मह अग्र्यानिक एवम शुद्ध भएका कारण सरोकरावाला निकायले वजार खोजीमा सहयोग गरे जाजरकोट महकै कारण विश्वभरि चिनिने उहाँको भनाई छ ।

जाजरकोटकोे कात्तिके महको बजारमा माग धेरै रहेको अर्का किसान भविलाल खत्रीले बताउनुभयो । जिल्लामा व्यवस्थित रुपमा मह उत्पादन गर्न सके जिल्लाबाट वर्षेनी एक करोडभन्दा बढीको मह निर्यात गर्न सकिने उहाँको अनुमान छ ।