☰ open Loading... 24 October 2024|  

एकसय बढी हलियाको पुनस्र्थापना भएन
  | ११ कार्तिक २०७३, बिहीबार १६:४९

हलिया मुक्तिको आन्दोलन सफल भई सरकारले हलिया मुक्त भएको घोषणा गरेपनि अछाममा अझै हलिया बस्दै आएको भेटिएको छ । हलिया मुक्त घोषणा भएको सात बर्ष पुरा हुँदा पनि जिल्लामा भने अझै हलिया बस्ने गरेको पाईएको हो ।

जिल्ला हलिया मुक्ति समाज अछामले गरेको अन्तरक्रियामा सहभागीहरुले अझै हलिया बस्दै आएको बताएका छन् । मंगलसेन नगरपालिका–५ का तेजे कामीले आफु अझै पनि आफ्नो मालिकको हलिया गर्दै आएको जानकारी दिए ।

mukta-haliya

‘आजसम्म मालिकको घरमा हलिया काम गर्दै आएको छु ।’ उनले भने,–‘यतिका वर्षसम्म हलियामै दिन वित्दा समेत हलियाको सूचिमा नाम छैन् ।’

सहभागीहरुले आफुहरुको नाम हलियाको सूचिमा समावेश हुन नसकेकोमा दुखेसो गरे । मुक्त हलिया समेत रहेका शारदा आउजी, पवित्रा आउजी, रङ्गे दमाई लगायतले पनि आफुहरुले हलिया परिचयपत्र र राहत समेत नपाएको दुखेसो पोखे ।

राष्ट्रिय हलिया मुक्ति समाज महासंघ नेपालका अध्यक्ष राजुराम भुलले हलियाको एकिन तथ्याङ्क आउन नसकेका कारण अधिकांश हलियाहरु परिचय पत्र र राहत पाउनबाट बञ्चित हुनु परेको बताए ।

तथ्याङ्क संकलनका क्रममा सरकारी निकायबाट त्रुटी भएका कारण मुक्त हिलयाको एकिन तथ्याङ्क आउन नसकेको उनको भनाई थियो ।

सरकारी निकायले हलियाको गलत तथ्याङ्क दिएकै कारण अहिले हिलयाहरु समस्यामा परेको भन्दै उनले अझै वास्तविक हलियाको तथ्याङ्क संकलन हुन जरुरी रहेको उल्लेख गरे ।

जिल्ला मालपोत कार्यालय अछामका प्रमुख छविराज उपाध्यायले जिल्लामा मुक्त हलियाको तथ्याङ्क सार्वजनिक गरेका थिए । उनका अनुसार अछाम जिल्लामा हालसम्म २ सय १२ जना मुक्त हलिया रहेका छन् ।

यसमध्ये १ सय ६८ जनाले परिचय पत्र पाईसकेका छन् भने अन्यले परिचयपत्र पाउन बाँकी छ । जिल्लाका १ सय ६ जना मुक्त हलियाको पुनस्र्थापना समेत हुन बाँकी छ ।