☰ open Loading... 26 July 2024|  

कर्णाली करिडोरमा गाडी गुड्यो
  | १९ कार्तिक २०७३, शुक्रबार १९:३२

कर्णालीको ‘ग्रोथ एक्सिस’का रुपमा रहेको कर्णाली करिडोरको खुलालुदेखि शान्तिघाटसम्मको १५ किलोमिटरमा रारा कर्णाली यातायात प्रा.लि.ले गाडी यातायात संचालन गर्ने भएको छ ।

karnali-karidor

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का सहितको यातायात ब्यवसायीको टोलीले बुधबार सडकको अनुगमन गर्दै यातायात संचालन गर्ने तयारी गरेको हो । रारा कर्णालीका ३ वटा जीप सहित शान्तिघाटसम्म अनुगमन टोली पुग्दा त्यहाँका स्थानीयबासीहरु निकै उत्साहित देखिएका थिए ।

समग्र कर्णालीको आर्थिक सामाजिक विकाससँग जोडिएको कर्णाली करिडोरमा गाडी गुड्दा अब सडकले सार्थकता पाएको अनुभूति भएको मेहलमुडीका ऐमान बोगटीले बताए ।

‘लामो समयको प्रतिक्षापछि बल्ल गाडी पुगेको छ ।’ उनले भने,–‘अब सरर गाडीमा नै यात्रा गर्न पाइने भयो ।’ कालिकोट जिल्लाको खुलालुदेखि बाजुरा, हुम्ला हुँदै चीनको सिमाना हिल्सा जोड्ने, नेपालकै उत्तर दक्षिण भारत र चिनलाई जोड्ने राष्ट्रिय महत्वको राजमार्ग कर्णाली करिडोरको १५ किलोमिटर सडकखण्डमा गाडी गुड्न सडक उपयुक्त रहेको र गाडीहरुको भाडादर कायम गरेर सार्वजनिक जीप संचालनमा ल्याउन लागेको रारा कर्णाली यातायात प्रा.लि.का अध्यक्ष हस्तबहादुर बमले बताए ।

‘कर्णालीको आर्थिक सम्मृद्धिका साथै व्यापारीक राजमार्गका रुपमा लिईएको करिडोरको शान्तिघाटसम्म सार्वजनिक जीप चलाउने तयारी गरेका छौं ।’ उनले भने,–‘पहिलो चरणमा तीन वटा जीप संचालनमा ल्याउने तयारी गरेका छौं ।’

विगत ११ बर्षदेखि सडक विभागले काम थालेको कर्णाली करिडोरमा करोडौ बजेट खर्चिएपनि अपेक्षित काम हुन नसकेपछि कर्णाली करिडोरको निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । नेपाली सेनालाई २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्री स्तरीय निर्णय भई त्यसैको चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात गरेको थियो ।

कर्णाली करिडोर निर्माणको जिम्मा नेपाली सेनाले लिइको छोटै समयमा नै सडक निर्माणको कामले तिब्रता पाएको स्थानीय रामबहादुर शाहीले बताए । ‘कर्णालीको भाग्यसँग जोडिएको राजमार्गले सेनाले जिम्मा लिएपछि कामले तिब्रता पाएको छ ।’ उनले भने,–‘बिगतको भन्दा काम निकै अगाडी बढेको छ ।’

लालिघाटदेखि बाजुराको अर्थिङगे चौरसम्मको ६८ दशमलव ५ किलोमिटर सडकको आँशिक ट्रयाक खुल्ला हुने भएको छ । आउने आर्थिक बर्षको दोस्रो चौमासिक सम्म कर्णाली करिडोरको कालिकोट खण्ड ४० किलो मिटर ट्रयाग ओपन गरि सडक विभागलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

कर्णाली करिडोर कालिकोट खण्ड ४० किलोमिटर, बाजुरा खण्ड ४३ किलोमिटर र हुम्ला खण्ड १ सय १३ दशमलव ३४७ किलोमिटर गरी १ सय ९६ दशमलव ३४७ किलोमिटर रहेको छ । वि.सं. २०५७ सालमा कालिकोट करिडोरको शिलान्यास गरिएको थियो । शिलान्यास भएको १५ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो ।

स्थानीयबासीद्धारा सुरक्षाको माग सडक संजालले छोएपछि राजमार्गमा सुरक्षा ब्यवस्था निकै कमजोर रहेको बताउँदै शान्तिघाटबासीले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्कासँग शान्ति सुरक्षाको माग गर्दै प्रहरी चौकीको स्थापना गनुपर्ने माग गरेका छन् ।

प्रहरी चौकी नहुदाँ झै–झगडा निकै बढेको बताउँदै स्थानीयले शान्तिघाटमा तत्काल प्रहरी चौकीको स्थापना गर्नु पर्ने स्थानीयले माग गरेका हुन् ।

सडक संजाल गाडी चलाउनलाई उपयुक्त रहेको सडकसँगै शान्ति सुरक्षा पनि आवश्यक रहेको बताउँदै स्थानीयको माग जाहेज भएको त्यसको लागि आफुले पहल चाल्ने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए ।  ‘स्थानीयले शान्ति सुरक्षाको माग गरेका छन् ।’ उनले भने,–‘आफुले त्यसका लागि पहल चाल्नेछु ।’