☰ open Loading... 24 October 2024|  

दलित छात्रावास निर्माण कार्य सुरु
  | १२ मंसिर २०७३, आईतवार ०८:४४

कञ्चनपुरको भीमदत्तनगरपालिकाको भगतपुरमा सुदूरपश्चिमाञ्चल दलित विद्यार्थी छात्रावास निर्माणको कार्य सुरु गरिएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको रु ३० लाख, जिविस कञ्चनपुरको रु दुई लाख र भीमदत्तनगरपालिकाको रु ५० हजारको लागतमा छात्रावास निर्माणको कार्य सुरु गरिएको हो ।

छात्रावास निर्माणका लागि महेन्द्रनगर नगरविकास समितिले एककट्ठा दश धुर जग्गा प्रदान गरेको सुदूरपश्चिमाञ्चल दलित विद्यार्थी छात्रावास कञ्चनपुरका महासचिव राजेन्द्र चुनाराले बताए ।

निर्माणाधीन छात्रावासमा शौचालय, स्नानघरसहित १३ कोठा रहेका छन् । छात्रावासको पहिलो तला निर्माण गर्न मात्रै रु ६० लाख बढी खर्च लाग्ने हुन्छ महासचिव चुनाराले भने – “यसका लागि दातृ निकायलाई गुहारेका छौँ ।” छात्रावास निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

दातृ निकायको सहयोगमा कल्भर्ट निर्माण

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–५ गर्जमुनिमा दातृ निकायले उपलब्ध गराएको रु पाँच लाखको लागतमा स्ल्याब कल्भर्ट निर्माण गरिएको छ । अमेरिकी सहयोग नियोग (युएसआइडी)को आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा कल्भर्ट निर्माण गरिएको हो ।  कल्भर्ट निर्माण भएपछि आवतजावतमा निकै सहजता भएको स्थानीय अन्तराम बडूले बताए ।