☰ open Loading... 1 May 2024|  

लागुऔषधसहित दुई जना पक्राउ
  | २२ पुष २०७३, शुक्रबार १२:२१

कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकीबाट आज बिहान सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । निकटवर्ती भारतीय बजार वनवासाबाट प्रतिबन्धित नाइट्रोभेट नामक लागुऔषध एक हजार पचास थानसहित भीमदत्तनगरपालिका–१० का २३ वर्षीय रामसिंह धामी र बेलडाँडी नगरपालिका–६ का मदन गिरीलाई पक्राउ गरेको हो ।

दुबै जनालाई लागुऔषधसहित सीमा नाकामा चेकजाँचका क्रममा पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केसीले बताए । ‘धामी लामो समयदेखि लागुऔषधको ओसारपसारमा संलग्न रहेको पाइएको छ’ उनले भने, “गिरीलाई धामीले मदिरा खुवाई सीमाना कटाउनका लागि लागुऔषध उपलब्ध गराएको प्रारम्भिक सोधपुछमा बुझिएको छ ।”

लागुऔषधसहित पक्राउ गरेका दुबै जनालाई आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइने उनले जानकारी दिए ।