☰ open Loading... 26 October 2024|  

मप विश्वविद्यालय र पानी परियाेजनावीच समझदारी पत्रमा हस्ताक्षर
  | २९ पुष २०७३, शुक्रबार १३:०८

सुर्खेत । मध्यपश्चिमान्चल विश्वविद्यालय र युएसएड नेपालअन्तर्गतको पानी परियोजनाबीच समुदायमा आधारित रही समुदायकै नेतृत्व परिचालन गरी वातावरण परिवर्तन र स्वस्थ जैविक पूर्वाधारको संरक्षण गर्नका लागि दीर्घकालिन जलाधार व्यवस्थापन सम्बन्धी कार्य गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

mu photos

समझदारी पत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र युएसएड नेपालअन्तर्गतको पानी परियोजनाका प्रमुख एलेन टेलरले हस्ताक्षर गरेका छन् ।

नेपालको आर्थिक आधार तथा जीविकोपार्जनमा पानीको महत्वपूर्ण भूमिका रही आएको छ । मध्यपश्चिमान्चल विश्वविद्यालय र पानी परियोजना प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै समावेशी तथा दीर्घकालिन आर्थिक उन्नतिका उपायहरुलाई बढावा दिंदै चरम गरिबी हटाउने सम्बन्धी कार्य गर्न सहमत भएका छन् ।

नेपालमा रहेका जलाधारहरुको बहुउपयोग गर्दै वातावरणीय सन्तुलन कायम गरेर जल आश्रित जैविक सम्पदाहरुलाई संरक्षण गर्नका लागि एकीकृत जलाधार व्यवस्थापन सम्बन्धी पाठ्यसामग्री तयार गरी विद्यार्थी, शिक्षक तथा जनस्तरमा चेतना जागरण गर्न दुवै संस्थाको पहल रहने समझदारी पत्रमा उल्लेख गरिएकाे छ ।

उच्च शिक्षामा क्षेत्रीय सन्तुलन कायम गर्नका लागि राज्यले लिएको बहु विश्वविद्यालय नीति अनुरुप वि.सं. २०६७ आषाढ ३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना गरिएको हो ।

स्थापनाको छोटो समयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई राष्ट्रिय र अन्तर्राष्ट्रियक्षेत्रमा एक उच्च स्तरीय प्राज्ञिक केन्द्रको रुपमा परिचित भइ उच्च स्तरको शिक्षण तथा रचनात्मक प्राज्ञिक कार्यहरू, बहुआयामिक अनुसन्धानात्मक क्रियाकलापहरू, राष्ट्रिय तथाअन्तराष्ट्रिय सह–सम्बन्धको विकास, समावेशी मर्यादा, सामाजिक उत्तरदायित्व, विश्व भाइचारा आदि क्रियाकलापहरूको सञ्चालन र स्थापनाबाट एक प्राज्ञिक थलोको रुपमा स्थापित र विकसित हुन सफल भएको छ ।

विश्वविद्यालयको अनुसन्धानको क्षेत्र ,प्राज्ञिक उन्नयन तथा शिक्षक विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने गरी मध्य पश्चिमान्चल विश्वविद्यालय र दाइद्वारा परिचालित युएसएड नेपाल अन्तर्गतको पानी परियोजना विच तिन बर्षे समझदारी आज भएको छ ।

जलाधार आश्रित स्थानीय सरोकारवालाहरुको ज्ञान, सिप र अनुभवलाई समेटेर दिर्घकालिन संरक्षण रणनीति निर्माणका लागि मध्यपश्चिमान्चल विश्वविद्यालयलाई जलाधार सम्बन्धी अध्ययन प्रयोगशालाका रुपमा विकसित गर्ने सम्झौताको मुख्य मर्म रहेको छ ।

जसवाट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी,शिक्षक र सरोकारवाला सवैलाई कारण,प्रभाव र जटिलताहरुको ज्ञान हुनुका साथै अध्ययन गर्नका लागि विभिन्न स्रोत र साधनको विकास गरी एकीकृत जालाधर संरक्षणमा कार्य गर्नका लागि प्रेरणा प्रदान गर्ने विश्वास दुवै संस्थाको रहेको छ ।

दीर्घकालिन विकासका लागि हाल विश्वविद्यालयमा अध्यापन रहेका पाठ्यक्रममा समयानुकुल दिर्घकालिन विकास, जलाधार संरक्षण ,समावेशीता सम्बन्धी परिमार्जन तथा भविष्यमा नयाँ पाठ्यक्रम निर्माण गरी विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा सहयोग गर्ने लक्ष्य यस परियोजनाको रहेको छ ।

शिक्षकहरुको क्षमता अभिवृद्धि,प्रविधि आदानप्रदान,समुदायको सवलिकरण जस्ता उदेश्य रहेको यस परियोजा समग्र मध्यपश्चिम क्षेत्रको आर्थिक विकासको मेरुदण्ड हुने विश्वास दुवै पक्षको रहेको छ ।

अन्तत:मध्यपश्चिमान्चल विश्वविद्यालय शिक्षण, अनुसन्धान र रचनात्मक कार्यहरूद्वारा आम नागरिकहरू तथा सिङ्गो समाजको समृद्धिमा क्रियाशील बनाई प्राकृतिक स्रोत साधन दोहनको माध्यम बनाउन विभिन्न आधारहरु निर्माण गरी समग्र राष्ट्रको आर्थिक समृद्धि र दिगो विकासमा टेवा पुर्याउने गरी स्थलगत अध्ययनमा आधारित पाठ्यक्रमहरु निर्माण गरी विद्यार्थी, शिक्षकहरुको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्ने सम्झौतामा जनाइएको छ ।