☰ open Loading... 3 May 2024|  

१६ दिनदेखी श्रीसिद्ध बहिरा स्कूलमा लागेका ताला खुलेन
  | ७ माघ २०७३, शुक्रबार १८:१५

पठनपाठन बन्द गरी विद्यार्थी आन्दोलनमा

सुर्खेत । वीरेन्द्रनगरस्थित श्रीसिद्ध बहिरा बालकको स्कूलका विद्यार्थीद्वारा पठनपाठन बन्द गरी आन्दोलिनमा उत्रेका छन् । स्कूलका प्रधानाध्यापक हटाएर तत्काल विद्यालय व्यवस्थापन समिति गठन लगायतका १३ बुँदे माग राख्दै स्कूलमा तालाबन्दी गरी विगत १६ दिनदेखि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

school-ma-tala
स्कूलका प्रधानाध्यापक र विद्यालय व्यवस्पान समितिका पूर्व अध्यक्ष वीचको मनमुटावका कारण यस्तो अवस्था आएको सम्बद्धहरु बताउँछन् । विद्यार्थीका मागलाई जिल्ला शिक्षा कार्यालय, स्कूल व्यवस्थापन समिति र शिक्षकले सम्बोधन गर्न नसक्दा ७० जना बालबालिका १६ दिनदेखि पढनबाट बञ्चित भएका हुन् ।

स्कूल व्यवस्थापन समितिका पूर्व अध्यक्ष लोमन बुढा पुनः अध्यक्ष बन्न नपाएको झोंकमा बहिरा बालबालिकालाई उकुसाएर स्कूल बन्द गराईएको स्कूलका प्रधानाध्यापक चन्द्रबहादुर कार्कीले बताए । बुढाले पुनः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने मनसायले लामो सयमदेखि चलखेल गरिरहेको उनी बताउँछन् ।

यता विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बुढाले प्रधानाध्यापको आरोप निराधार भएको बताए । उनले आफ्ना सन्तानहरु उक्त विद्यालयमा अध्ययनरत रहेकाले चाँसो लिनुलाई अन्य अर्थमा नबुझ्न आग्रह गरे । उनका अनुसार असक्षम् प्रधानाध्यापककै कारण विद्यार्थीहरु पढ्नबाट बन्चित भईरहेका छन् ।

निमित्त जिल्ला शिक्षा अधिकारी भोजराज लम्सालले बन्द विद्यालयलाई खुलाउन विभिन्न स्तरबाट पहल भईरहेकाले छिट्टै समस्या समाधान हुने दावी गरे । उनले विद्यार्थीको पहिलो माग नै स्कूलका प्रधानाध्यापक हटाउने माग रहेकाले यसबारेमा गम्भीररुपमा गृह कार्य भईरहेको जानकारी दिए ।

यता कुनैपनि बहानामा विद्यालयलाई बन्द गराएर विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नपाउने सरोकारवाला बताउँछन् । नियमन निकायले तत्काल आवश्यक कदम उठाउँदै बन्द स्कूलको ताला खोलाएर पठनपाठन सुचारु गराउन इन्सेक सुर्खेतका प्रतिनिधि दुर्गा थापाले माग गरे ।

उनले नियमन निकाय जिल्ला शिक्षा कार्यालयद्वारा सशक्त भूमिका खेल्न नसक्दा यस्तो गम्भीर समस्या उत्पन्न भएको जनाए । उनका अनुसार विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका पूर्व अध्यक्ष वीचको द्वन्द्वले विद्यार्थीहरु पढाईबाट बञ्चित भएका छन् ।

नियमन निकाय जिल्ला शिक्षा कार्यालयको समन्वयकारी भूमिका कमजोर रहेकै कारण १६ देखि विद्यालयमा तालाबन्दी भएको शिक्षक–अभिभावकले बताएका छन् । उनीहरुले विद्यार्थीका मागप्रति सशक्त भूमिका खेल्न शिक्षा कार्यालयसँग माग गरेको स्कूलकी शिक्षिका धर्माकुमारी गौतमले बताईन् ।

मध्यपश्चिमको एक मात्र बहिरा स्कूलका विद्यार्थीले १५ दिनदेखि पढ्न नपाउँदा उनीहरुका अभिभावकहरु चिन्तित भएका छन् । आफ्नो स्वार्थपूर्तिका लागि विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओली बयक बताउँछिन् ।

उनले आखिर ! जस्को जे जस्तो स्वार्थ रहेपनि, यी निर्दोष फरक प्रकृतिका विद्यार्थीले सहजरुपमा पढन पाउने वातावरण मिलाउन तर्फ सबै जुट्नु पर्ने धारणा राखिन् ।