☰ open Loading... 6 May 2024|  

थपिदै क्षेत्रीय अस्पतालमा सेवा
  | १८ फाल्गुन २०७३, बुधबार ०८:३८

सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरको कालागाउँमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विगत वर्षभन्दा पछिल्लो समय समय अनुकुल सेवाहरु विस्तार गर्न थालेको छ । भौतिक रुपमा असक्षम र सेवामा गुणस्तर छैन् दाग लगाएको यो अस्पतालले पछिल्ला वर्ष सेवामा गुणस्तर कायम गर्दै लगेको छ ।


केहि वर्ष अघिसम्म अस्पतालमा जिर्ण भवन, वेडहरुमा उडुसको विगविगी, सामान्य सेवा लिन विरामी बाहिर रिफर हुनु पर्ने बाध्यता थियो । पछिल्ला दुई वर्षमा भौतिक रुपमै सुविधा सम्पन्न र सेवामा पनि गुणस्तर कायम गरेपछि सेवाग्राहीको मन जित्न थालेको छ ।

अस्पताल विकास समिति र अस्तपालमा कार्यरत निमित्त मेसुको सक्रियताले अस्पताल माथि सेवाग्राहीले लगाउँदै आएका आरोप हाल निराकरण हुन थालेका छन् । अस्पतालको गुणस्तरमा प्रश्न चिन्ह नै खडा हुन थालेपछि हाल अस्पताल परिसरमा थप नयाँ सुविधा सम्पन्न भौतिक संरचना स्थापना गरिएको छ भने अस्पतालको सेवामा पनि परिवर्तन भएको छ ।

गत असोजदेखि लागु हुने गरि क्षेत्रीय अस्पतालले अस्पताल परिषद्ले तोकिएको समय भन्दा पछाडी आउने विरामीहरुका लागि  पनि थप सेवा सुचारु गरेपछि हाल विरामीहरुको संख्यामा पनि बढोत्तरी भएको छ । फागुन २० गतेबाट क्षेत्रीय अस्पतालले श्वास प्रश्वासमा समस्या अथात् सिकिस्त विरामलाई कृत्रिम श्वास दिनका लागि आइ.एस.सु सेवा विस्तार गर्न लागेको छ । यस्तै नवजात शिशुहरुको केयर गर्न एन.एस.सु सेवा समेत सुचारु गर्न लागेको अस्पतालका निमित्त मेसु डा. डम्बर खड्काले जानकारी दिए । उनका अनुसार आई.एस.सु र एन.एस.सु सेवाको उद्घाटन स्वास्थ्य मन्त्री गगनबहादुर थापाले गर्ने कार्यक्रम तय भएको छ ।

क्षेत्रीय अस्पताल ५० वेडको मात्र रहेको क्षेत्रिय अस्पतालका सुपरिवेक्षण डा. खड्काले बताए  । अस्पतालकै पहलबाट ७५ वेड बनाई सकेको बताएका खड्काले तत्कालै १५० वेडमा विस्तार हुन लागेको जानकारी दिए । अस्पतालमा पुग्ने विरामीहरु मध्य सबैभन्दा बढी प्रसुति सेवा लिने महिलाहरुको संख्या बढी छ । अस्पतालमा हाल ७ ओटा मात्र वेड रहेको बताएका डा. खड्काले यही महिना भित्र ३० वेड बनाएर सेवा विस्तार गर्न लागेको जनाए ।

क्षेत्रीय अस्पतालमा फागुन अन्तिमसम्म फार्मेसी संचालन हुँदैछ भने मृगौला सम्वन्धि विरामीहरुको लागि मृगौला सफा गर्ने डाइलेक्सीक सेवाको पनि विस्तार हुन लागेको डा. खड्काको भनाई छ । अस्पतालमा हाल भिडियो एक्सरे सेवा, एक्सरे सेवा, हाड जोर्नी सेवा, मुटु सम्बन्धी अपरेशन सेवा लगायत विभिन्न सेवाहरु दिँदै आएको छ । फिस्टुला रोगका विरामीका लागि नयाँ भवन निर्माण हुँदैछ भने नयाँ भवनमा थप सुविधा सम्पन्न भवन निर्माणको क्रम प्रक्रियामा छ । फिस्टुला सेवा देशका ४० ओटा जिल्लाका विरामीहरुलाई सेवा पु¥याउने लक्ष्य अस्पतालको छ । ६ करोडको लागतमा निर्माण हुन लागेको फिस्टुला भवनमा १७ ओटा वेडहरु रहने छन् ।

अस्पताल विकास समितिको सक्रियताले नै क्षेत्रीय अस्पतालले सेवामा विस्तार गर्न सफल भएको तर्क डा. खड्काको छ । अस्पतालको विकास लागि सांसदद्वय लालबहादुर घले र खड्क बस्यालले अस्पताल पुग्ने विरामीहरुलाई आराम गर्न प्रतिक्षालय र गार्डेन निर्माण कार्यको लागि बजेट छुट्टाएका छन् । सासंद्द्वयले ९ लाख र वीरेन्द्रनगर नगरपालिकाले १ लाख गरी कुल १० लाख रुपैयाँ अस्पताललाई दिएका छन् । आई एस.सु. संचालनका लागि स्वर्गिय नन्दबहादुर कार्कीका छोरा–छोरीले बुवाको सम्झनामा ४० लाख रुपैयाँ सहयोग गरेको अस्पतालले जनाएको छ । अस्पतालको सेवा विस्तारका लागि आफूहरु कटिवद्ध रहेको डा. खड्काले बताए ।