☰ open Loading... 2 May 2024|  

काँग्रेस बैठकमा टिकट वितरण प्रक्रियाबारे छलफल जारी
  | १४ चैत्र २०७३, सोमबार १६:३७

आइतबारबाट प्रारम्भ भएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल सुरु भएको छ । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई टिकट वितरण कुन प्रक्रियाबाट वितरण गर्ने भन्नेसम्बन्धमा छलफल सुरु भएको बताइएको छ ।

दोस्रो दिनको आजको बैठकमा केन्द्रीय सदस्यहरुले वडादेखि महानगरपालिकासम्मका उम्मेदवारलाई कुन प्रक्रियाबाट टिकट दिँदा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा आफ्ना धारणा राखेका छन् । बैठक अहिले पनि चालु नै छ ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा उम्मेदवारलाई केन्द्रबाट तथा वडा र गाउँपालिकामा भने जिल्लामा संयन्त्र बनाएर टिकट दिनुपर्ने धारणा केही केन्द्रीय सदस्यहरुले राखेको बताइएको छ । बैठकमा स्थानीय तहअनुसारको पार्टीको साङ्गठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल भइरहेको छ ।

यसअघि बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । त्यस्तै केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिसमेत गठन गरेको छ।

बैठकले आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठित समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित पार्टीको वरिष्ठताका आधारमा थप २५ केन्द्रीय सदस्य गरी जम्मा २९ सदस्यीय समिति गठन गरेको थियो ।