☰ open Loading... 2 May 2024|  

मध्य–सुदूरपश्चिममा म्यादी प्रहरी हुन ५४ हजार बढीको दरखास्त
  | १८ चैत्र २०७३, शुक्रबार ११:०३

सुर्खेत। आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरीमा मध्य–सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा उल्लेख्य मात्रामा दरखास्त परेको छ । दुई विकास क्षेत्रबाट मात्रै ५४ हजार ७१८ जनाले दरखास्त दिएको क्षेत्रीय प्रहरी कार्यालयहरुले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा म्यादी प्रहरी हुन दरखास्त दिन लाइनमा लागेका युवाहरु ।

यसैविच मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट ३५ हजार ७८२ जनाले म्यादी प्रहरीमा दरखास्त दिएको मप क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका सई भक्तबहादुर थापाले जानकारी दिए । उनका अनुसार यो मध्य ३० हजार ४१ जना पुरुष र ५ हजार ७४१ जना महिलाले दरखास्त दिएका छन् ।
यता, सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दिपायलका सई डम्बर मल्लका अनुसार सुदूरपश्चिमबाट १८ हजार ९९६ जनाले दरखास्त दिएका छन् । यी मध्य १६ हजार ९५५ पुरुष र २ हजार ४१ जना महिला रहेको सई मल्लले पश्चिमनेपाललाई जानकारी दिए ।
सुप क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार म्यादी प्रहरी बन्न सबैभन्दा बढी कैलाली र कम बझाङबाट दरखास्त परेका छन् । कैलालीबाट ६ हजार २० र डोटीबाट १ हजार १८५ जनाले दरखास्त दिएका छन् । यी जिल्ला मध्य कैलालीमा पुरुष ५ हजार १५० र महिला ८७० जना छन् भने डोटीमा १ हजार ४१ पुरुष र १४४ जना महिलाले दरखास्त दिएका छन् ।
यस्तै, अछाममा १ हजार ६६४, बझाङमा १ हजार २४५, बाजुरा १ हजार २४०, कञ्चनपुरमा ३ हजार ४९५, डडेल्धुरामा १ हजार ३२६, बैतडीमा १ हजार ३७३ र दार्चुलामा १ हजार ४४८ जनाले दरखास्त दिएको सुप क्षेत्रीय प्रहरी कार्यालय दिपायलका सई मल्लले बताए ।