☰ open Loading... 17 May 2024|  

भान्सा छोएको भन्दै ९ वर्षिय दलित बालक कुटिए
  | १८ चैत्र २०७३, शुक्रबार ११:१८

सुर्खेत । भान्सा छोएको भन्दै एक दलित बालक कुटिएका छन् । बराहगाउँपालिका–८ कुनाथरी निवासी कक्षा ३ मा अध्ययनरत ९ वर्षिय भीमबहादुर विकलाई सोही ठाउँका भरत शाही र बाटु शाहीले कुटेको आरोप आफन्तले लगाएका छन् ।

भीमबहादुरकी आमा जयसराका अनुसार पहिला घरभित्र समान ल्याउन पठाएर पछि किन भान्सा छोइस भन्दै साझको लौरोले कुटेको बताईन् । जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन आएकी जयसराका अनुसार छोरालाई बेहोस हुनेगरी कुटेर घरमा ल्याएर छोडेका थिए । ‘आफु गोठालो गएको थिए, फर्किदा छोरो घरमा बेहोस अवस्थामा थियो’ जयसराले भनिन् ।

भीबहादुलाई अन्दाजी २२ वर्षिय भरत शाहीले निल डाम बस्ने गरी बुधबार कुटेका थिए । कुटिएको छोरालाई राती घरमा घरेलु औषधी लगाएको र भोलिपल्ट मध्यपश्चि क्षेत्रीय अस्पताल कालागाँउमा ल्याएर उपचार गरेको बताइन् ।

कुटपिटका कारण छोरो अझै राम्रोसंग हिडडुल गर्न नसकेको पनि उनको भनाई छ । जातिय छुवाछुत विरुद्ध जयसराले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी छन् ।