☰ open Loading... 18 May 2024|  

असुरक्षा भएपछि स्वास्थ्यकर्मी विस्थापित
  | २४ जेष्ठ २०७४, बुधबार १७:१२

दैलेख । जग्गाको विषयमा विवाद हुँदा स्वास्थ्य चौकी गैडाबाजका सवै कर्मचारी रातारात भागेका छन् । कर्मचारीहरु असुरक्षित भएको भन्दै रातारात भोगेका हुन् । महावु गाँउपालिका अन्र्तगत गैडाबाजमा रहेको स्वास्थ्य चौकीको जग्गा घेरवार गर्ने विषयमा विवाद हुँदा कर्मचारीहरु असुरक्षित भएर रातारात भाग्नुपरेको कर्मचारीहरु बताउँछन् । कर्मचारी असुरक्षाले भाग्दा सोमवारदेखी स्वास्थ्य सेवा नै बन्द छ । आफुहरुलाई सुरक्षा प्रत्याभुती नहुने बेलासम्म काममा नफर्कने कर्मचारीहरु उद्घोष गरेका छन् ।

स्वास्थ्य संस्थालाई जग्गा दिने जग्गादाता हर्कबहादुर तमाटाका छोराहरु लक्ष्मण टमाटा र जयबहादुर टमाटाले आफुले दिएको भन्दा बढी जग्गा नापेको भनेर लामो समयदेखी विवाद गरेका छन् । गाँउपालिकामा स्वास्थ्य चौकी घेरवारको लागि निर्णय गर्दा जग्गा दाताका दुई छोराले माईन्यूट नै च्यात्न खोजेका थिए ।

उनीहरुले स्वास्थ्य चौकी कै जग्गामा पक्कि घर बनाउन लाग्दा विवाद उत्र्कषमा पुगेको स्थानीयले जनाएका छन् । टमाटा परिवारले आफुहरुले दिएको जग्गाभन्दा पनि बढी झुक्काएर पास गरेको आरोप लगाएका छन् । विवाद उत्र्कषमा पुगेपछि स्वास्थ्य चौकी ब्यवस्थापन समितिका बन्दानन्द जैसीमाथि नै हातपात गरिएको थियो ।

घर बनाउन रोक्न पुगेका अस्पताल कर्मचारी र ब्यवस्थापन समितिका सदस्यहरुमाथि नै जग्गाधनीको परिवारबाट आर्कमणको प्रयास भएपछि विवाद चुलिएको कर्मचारीहरु बताउँछन् । आईतवार जग्गाधनीको धम्की र आर्कमण प्रयासपछि कर्मचारीहरुले कार्यालय नै तालावन्दी गरेर सदरमुकाम आएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सहित असुरक्षित कर्मचारीहरुले सुरक्षाको माग गर्दै निवेदन समेत दिएका छन् । प्रहरीले सुरक्षा नदिनेबेलासम्म आफुहरु गाँउ नफर्कने अहेव सम्भु कुसुवाले बताए । सदरमुकाममा स्वास्थ्य चौकी प्रमुख हेम गुरुग सहित सम्पूर्ण कर्मचारी आएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. सोवित थापाले कर्मचारीमाथि नै आर्कमण प्रयास भएपछि डराएर रातारात सवै साथीहरु दैलेख सदरमुकाम आएको बताए । अहिले स्वास्थ्य चौकीमा सेवा बन्द छ । डा. थापाले भने, प्रशासनमा सुरक्षा माग गरेका छौं । उहाँहरुलाई सुरक्षा प्रत्याभुती भयो भने फर्कनुहुन्छ ।

उक्त स्वास्थ्य चौकीमा १ जना कार्यालय सहयोगी सहित ६ कर्मचारी स्वास्थ्य चौकीमा कार्यरक्त छन् । विवादित स्थल नजिकै प्रहरी चौकी छ । तर, पनि कर्मचारीहरु असुरक्षित भएर सदरमुकामा राताराता आउनुले शान्ति सुरक्षामा गम्भिर प्रश्न उठाएको छ ।