☰ open Loading... 2 May 2024|  

उडान थपिँदा प्रदेश ७ का नागिकलार्इ राहत
  | १७ भाद्र २०७४, शनिबार ०८:१२

धनगढी । सडक यातायातबाट काठमाडौंसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्ताले धनगढी विमानस्थलवाट एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि राहत महसुस गरेका छन् ।

धनगढी विमानस्थलवाट अहिलेसम्म दैनिक नेपाल एयर लायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरले दुई र श्रीएयर लायन्सले एक उडान भर्दै आएकामा आजदेखि निजी क्षेत्रकै सौर्य एयरलाइन्सले काठमाडाैं–धनगढी नियमित उडान सुरु गरेको छ ।

सडक यातायातमार्फत काठमाडौंलगायत पूर्वी क्षेत्रमा पुग्न ७ नं प्रदेश सुदूरपश्चिमका उपभोक्ताले निकै सास्ती खेप्नुपरेको अवस्थामा हवाई कम्पनीले एकपछि अर्को उडान थालेपछि यात्रा सहज बनेको सौर्य एयर लायन्सबाट काठमाडौं उड्नुभएका कैलालीका धर्मराज भट्टले बताए ।

निजी वायु सेवा कम्पनी सौर्य एअरलाइन्सको सिआरजे २०० सिरिजको जहाजले काठमाडौं–धनगढी उडान सुरु गरेको हो । कम्पनीले ५४ सिट क्षमतायुक्त ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे (२००) सिरिजको जहाजमा ५० सिट यात्रुका लागि छुट्याएको छ । नयाँ जहाज यात्रुका लागि आरामदायी सिट र सुरक्षाका हिसाबले मजबूत रहेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए ।

पर्यटन व्यवसायीको संस्था ‘नाटा‘का सुदूरपश्चिम अध्यक्ष मायाप्रकाश भट्टले हवाई सेवाको उडान थपिँदा यस क्षेत्रको आर्थिक क्रियाकलापमा महत्वपूर्ण योगदान पुग्ने बताए । सौर्यले काठमाडौँ–धनगढी पहिलो उडान सुरु गरेकामा नाटाले विमानस्थलमै आज एयरलाइन्स टोलीलाई स्वागत गरेको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्रले हवाई यात्रा सहज र सरल बनाउनुपर्नेमा जोड दिए ।