☰ open Loading... 17 May 2024|  

शिक्षकको तलव दैनिक ४८ रुपैयाँ
  | २४ आश्विन २०७४, मंगलवार १७:५१

दैलेख । शिक्षकको मासिक तलव कति रुपैयाँ होला ? सवैले सहज उत्तर १० देखी ३५ हजारसम्म तर, तपाईलाई विश्वास नलाग्न सक्छ त्यहाँको एक विद्यालयमा पढाउने ४ शिक्षकको तलव दैनिक ४८ रुपैयाँ तलव खान्छन् भनेर । सत्य यही नै हो । दुई वर्षदेखी चामुण्डा २ स्थित पुनडाडामा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षकहरुले दैनिक ४८ रुपैयाँका दरले वार्षिक तलब १७ हजार ५ सय बुझने गरेका हुन् ।

उक्त तलबलाई महिनामा गणना गर्दा प्रतिमहिना १४ सय ५८ बुझछन् । दैनिक तलव ४८ रुपैयाँ खाने शिक्षकहरुमा टेकबहादुर पुनमगर, भैरथी कँडेल, अम्मरबहादर राना र चक्र कँडेल रहेका छन् ।

दिनभर विद्यालयमा पढाए बापत उनीहरुले प्रति दिनको पारिश्रमिक ४८ रुपैया पाउँछन् । जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने वार्षिक ७० हजार पिसिएफ अनुदानले ४ जना शिक्षकले बाँडेर खाने गरेका हुन् । उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन÷अध्यापन हुने गरेको छ ।

जिल्ला शिक्षा कार्यालयले अनुदान पनि आर्थिक वर्षको मसान्तमा मात्रै उपलब्ध गराउने भएकाले वर्षमा एक पटक मात्र तलव बुझ्ने गरेका छन् । चालु आवको श्रावण देखि उक्त विद्यालयका शिक्षकहरुले तलब सुविधा लिन पाएका छैनन् । पहिलो चौमासिक भित्र कुनै पनि शिक्षकले तलव खाना नपाए पछि चाडपर्व रमाइलोसँग मनाउन नपाएको उक्त विद्यालयका प्रधानध्यापक टेकबहादुर पुनमगरले बताए ।

‘त्यही तलवको पनि भर हुँदैन् । वर्षको अन्त्यमा आउँछ ।’ प्रधानध्यापक पुनमगरले भने, शिक्षाको ज्योती फैलाउनका लागि त्यही तलवमै भएपनि पढाउने काम गरिएको छ । जाँगिर पाईदैन् त्यसैले दैनिक ४८ रुपैँयामा पनि तलव खाएर चित्त शिक्षकहरुले बुझाएका छन् ।’

अधिकाँश जनजातीको वस्ती रहेको उक्त स्थानमा विद्यालयको समस्याको बारेमा जिल्ला शिक्षा कार्यालयमा बोलिदिने नेतृत्व नहुँदा समस्या नभएको अभिभावकहरुले गुनासो गरे । जागिरको अवसर कम हुँदा आफुहरुले कम तलवमै भएपनि घर पायक रुपमा शिक्षक पेशा अपनाएको अम्मरबहादुर रानाले बताए ।

भवन अभाव हुदाँ २ कक्षालाई एउटै कोठामा राखेर पढाउने समेत गरिएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष थानबहादुर रानाले बताए । कक्षा अभावसंगै विद्यालयका शिक्षकलाई समेत तलव खुवाउनै नसकिएको अध्यक्षको भनाई छ ।

अहिले गाँउमा विकासे काम गर्ने अदक्ष ज्यामीले प्रतिदिन ३५० र दक्ष ज्यामीले ७ सयसम्म कमाउने गर्छन् । तर, जसको हातमा भविश्यका कर्णधार बनाउने बालबालिकाको जिम्मेवारी छ उसले दिनमा १ सय पनि कमाउन पाउदैन् भने कसरी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ भनी रानाले नागरिकसंग प्रति प्रश्न गरे । त्यस्तै जगनाथ ३ स्थित भगवती आधारभूत विद्यालयको पनि त्यस्तै समस्या छ ।

कक्षा १ देखि १० सम्म अध्यायन अध्यापन गरिने उक्त विद्यालयमा निम्न माध्यामिक तहका २ जना राहत बाहेक अन्य कुनै शिक्षक दरबन्दिको व्यवस्था नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश बुढाले बताए । उनले थपे, कक्षा ६ देखि १० सम्म पढाई शुरु भएकै ७ वर्ष हुन लाग्यो तर, अहिलेसम्म विद्यार्थी र कक्षाको अनुपातमा शिक्षक दरवन्दिको व्यवस्था हुन् सकेको छैन् ।

सम्बन्धित निकायले विद्यालयप्रति चासो नदिदा अभिभावक मर्कामा परेको बुढाले गुनासो गरे । जिल्ला शिक्षा कार्यालयले भने, विद्यालयको मागका आधारमा समानुपातिक रुपमा भौतिक पूर्वाधारदेखी शिक्षक दरवन्दीको ब्यवस्था गरेपनि धेरै विद्यालय भएकाले सुविधा दिन गाह्रो भएको जनाईएको छ ।