☰ open Loading... 15 November 2024|  

महासंघ सुर्खेतले गेलाङ्गका परिवारलार्इ एक लाख राहत रकम दिने निर्णय
  | २ असार २०७६, सोमबार १९:०१

सुशील खड्का
सुर्खेत । दुर्घटनामा मृत्यु भएका पत्रकार नन्दबहादुर गेलाङ्ग स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको सोमबार बसेको सचिवालय वैठकले यस्तो निर्णय गरेको हो ।

गेलाङ्गसम्वन्धी थप : पत्रकार गेलाङ्गको अन्त्यष्टी

पाँच बुदे सहमतिपछि पत्रकार गेलाङ्गका आफन्तले शव बुझे (निर्णयसहित)

पत्रकार गेलाङ्गको शव नउठाउने भन्दै छिन्चुमा सडक अवरुद्ध

पत्रकार गेलाङ्गकाे दुर्घटनामा मृत्यु

बैठकले उनको असामयिक निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले गेलाङ स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने, आश्रित परिवारका लागि सहयोगार्थ अक्षयकोष स्थापना गर्ने र तत्कालका लागि महासंघ सुर्खेत शाखाले  परिवारलाई नगद १ लाख सहयोग प्रदान गर्ने निर्णय सचिव सुदीप पुरीले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव समेत रहेका पत्रकार गेलाङको मिति २०७६ जेठ २९ गते दिउँसो समाचार संकलनका लागि जाने क्रममा भेरीगंगा नगरपालिका वडा नं. ८ लोदेमा भएको सवारी दुर्घटनामा परी असामयिक निधन भएको थियो ।

सचिवालय वैठकले प्रेस विज्ञप्ति जारी गर्दै शोक प्रस्तावसँगै मिति २०७६ असार ६ गतेसम्म पत्रकार महासंघका कुनैपनि औपचारिक कार्यक्रमहरुको आयोजना नगर्ने निर्णय गरेको पनि सचिव पुरीकाे भनाइ छ ।

उनका अनुसार गेलाङको सम्झनामा मिति २०७६ असार ६ गतेका दिन शाखा प्राङगणमा श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरीएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय सामाजिक संजालमा सुर्खेतसहित कर्णाली प्रदेशका पत्रकारहरुको चरित्र हत्या गर्नेजस्ता विभिन्न टिकाटिप्पणीले पत्रकारहरुले असुरक्षित महसुस गरिरहेकोले यस बिषयमा जिल्ला शाखा सुर्खेतले महासंघको कर्णाली प्रदेश र केन्द्रीय समितिलाई यथार्थ जानकारी गराउने छ ।’