☰ open Loading... 2 May 2024|  

जाँदाजाँदै प्रमुख सचिव भण्डारीले दिए कारागारलाई पाँचसय किताब
  | २३ फाल्गुन २०७६, शुक्रबार १६:२०

सुर्खेत । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सुरु गरिएको कारागारमा किताब अभियानका लागि कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले पाँच सय थान पुस्तक हस्तान्तरण गरेका छन् ।

शुक्रबार अभियानले आयोजना गरेको कार्यक्रममा प्रमुख सचिव भण्डारीले सुर्खेत कारागारका जेलर लक्ष्मी खरेललाई पुस्तक हस्तान्तरण गरे । गत फागुन १२ गते कर्णालीका १० वटै जिल्लामा एकैसाथ पुस्तकालय स्थापना गरिएको थियो ।

कैदीसँग किताब ’ नाम दिएर अभियान सुरु गरिएको हो । प्रमुख सचिव भन्डारीले पुस्तकमार्फत नकारात्मक सोच बदल्न सकिने बताए । ‘कैदीबन्दीलाई कारागारबाट निस्केपछि असल चरित्र सिकाउन यी किताबले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘अभियानले कारागारलाई सुधारगृह बनाउने अवधारणालाई बल पु¥याएको छ ।’

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले किताब अध्ययनले व्यक्ति र समाजलाई सकारात्मक बाटोमा हि“डाइरहेको बताए । ‘कैदीबन्दीका लागि बाहिरी संसार हेर्ने महत्वपूर्ण साधन किताब हो,’ उनले भने, ‘यी पुस्तकले कैदीबन्दीलाई सूचना र ज्ञानको शक्ति दिनेछ ।’ प्रमुख सचिव भण्डारी सरुवा भएपछि उनीसँग भएका किताबहरु कारागारलाइ हस्तारन्तर गरेका हुन् ।

अभियानअन्तर्गत पहिलो चरणमा दैलेखमा आठ सय ६५, रुकुम पश्चिममा सात सय, जाजरकोटमा सात सय ८४, सल्यानमा एक हजार पा“च सय र डोल्पामा तीन सय किताब पठाइएको थियो ।

त्यस्तै सुर्खेतमा दुई हजार दुई सय ९०, मुगुमा दुई सय ४३, कालिकोटमा पा“च सय ६०, जुम्लामा ९ सय ४८ र हुम्लामा एक सय ९८ पुस्तक राखेर पुस्तकालय स्थापना गरिएको छ ।

जेलर खरेलले पुस्तकालय स्थापनापछि कारागार शान्त र व्यवस्थित बनेको भएको बताए । उनका अनुसार दैनिक २० जना कैदीबन्दीले पुस्तकालयमा अध्ययन गरिरहेका छन् ।