☰ open Loading... 5 May 2024|  

असुरक्षित गर्भपतनले किशोरीको ज्यान जोखिममा
  | ६ भाद्र २०७७, शनिबार १९:५७

 

 

वीरेन्द्रनगर ६ भाद्र -कालीकोटस्थित रास्कोट–४ सुनारबाढाकी १९ वर्षीय किशोरी नजिकैको पसलमा सामान किन्न जान्छिन् । उनलाई पसले साहुँ ५१ वर्षीय नमराज शाहीले कूदृष्टि राख्छन् र अनौतिक कार्य गर्न खोज्छन् । किशोरीले प्रतिकार्य गर्न खोजे पनि अन्ततः आफ्नो अस्मिता लुटिँदाको साक्षी आफैँ बन्छिन् । यो घटना क्रम यतिमै रोकिन्न । उक्त दिन जबरजस्ती करणी गरेपछि विभिन्न लान्छना र प्रलोभन देखाइ अन्य दिन पनि पसले साहुँ (नमराज) ले ती किशोरीसँग अनैतिक कार्य गर्छन् ।

यो कुरा किशोरी आफैँ पनि लुकाउन बाध्य छिन् । किनकी उनलाई धम्कीसमेत दिइएको छ । आफ्नो ज्यान धरौटीमा राखेर उनी आफ्ना बाबुसरीका पुरुषसँग सम्बन्ध राख्छिन् । यसै क्रममा जेठतिर उनको पेटमा गर्भ रहन्छ । पेट दुखेपछि उनले घरपरिवारलाई भन्छिन् । परिवार सीधैं नजिकैको सामुदायिक अस्पतालमा उपचार गराउन लिए । ‘छोरीको पेट दुखेको उपचार गराउँदा स्वास्थ्यकर्मीले पेटमा बच्चा छ भन्छन्,’ किशोरीका बुवाले भने, ‘हामी छांगाबाट खसेजस्तै भयौं ।’ छोरीलाई सबै सोध्दा छिमेकी नमराज शाहीले छोरीलाई प्रलोभनमा पारेर अनैतिक कार्य गर्दै आएको र गर्भ रहेको उनको भनाइ।
किशोरीको ज्यानसमेत जोखिममा पारेर शाही परिवारले असुरक्षित गर्भपतनसमेत गराएका छन् । ‘घरमा कोही नभएको बेला मलाई भगाएर साउन २५ गते जिल्ला अस्पताल मान्मा लिए,’ पीडित किशोरीले भनिन्, ‘त्यहाँ डाक्टरले किशोरीको शरीरमा रगतको मात्रा कम भएको र गर्भपतन गराउँदा ज्यानसमेत जान सक्ने भनेका थिए ।’ त्यतिबेला नमराजका छोरी ज्वाइ खगेन्द्र शाही किशोरीका नक्कली श्रीमान् बनेका थिए । किशोरीसहित गर्भपतनका लागि नमराज, खगेन्द्र र राजी शाही मान्मा पुगेका थिए ।

सरकारी अस्पतालले गर्भपतन गराउन नमानेपछि उनीहरूले निजी मेडिकलबाट गर्भपतनका लागि औषधि किनेको पीडित किशोरीले नागरिकलाई बताइन् । बाटोमा उक्त किशोरीलाई औषधि खुवाइएको थियो । ‘मान्माबाट आएपछि छोरीलाई आफ्नै घरमा राखे,’ किशोरीका बुवाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख गरिएको छ,’ ‘५÷६ दिनसम्म छोरीको रगत बग्न नरोकिएपछि मलाई बोलाए ।’ छोरीको अवस्था खस्किँदै गएपछि आफूलाई जिम्मा लगाउन खोजेको उनको भनाइ छ । ‘मलाई आर्थिक प्रलोभन देखाए,’ उनी भन्छन्, ‘नमानेपछि मार्ने र गाउँबाट निकाल्नेसम्मको धम्कीसमेत दिए ।’

अहिले पीडित किशोरीको अवस्था बिग्रिँदै गएको छ । गाउँमा उपचार हुन नसकेपछि किशोरीलाई थप उपचारका लागि जिल्ला अस्पताल मान्मा ल्याइएको उनका अंकल डम्मर सुनारले बताए । किशोरीलाई नमराज र उनका आफन्तले तलाई राम्रो व्यवस्था गरिदिन्छु भन्दै फकाएर गर्भपतन गराएको उनले बताए । अहिले पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले जाहेरी दिएका छन् ।

यहाँका दलित समुदायलाई माथिल्लो भनिएकाबाट हुने विभेद्को अर्काे रूप भएको दलित अधिकारकर्मी हजा सुनारले बताइन् । ‘यहाँ दलितहरू राम्रो लगाएर हिँड्न पाउँदैनन्,’ उनले भनिन्, ‘राम्रो खाँदासमेत ऋषराक राख्छन् ।’ यो घटना न्यायिकभन्दा आर्थिकरूपमा मिलाउन खोजिएको उनको भनाइ छ । ‘आर्थिक लेनदेनमा यस्ता विषय टुंग्याउनु हुँदैन,’ उनले भनिन्, ‘पीडितलाई न्याय दिनुपर्छ ।’ किशोरीको पेटमा बच्चा पूरै नखसेकोले झन समस्या भएको उनले बताइन् । हालसम्म यहाँ तीनवटा दलित महिलामा यस्तो समस्या हुने गरेको उनले जनाइन् ।

तीन हजार वर्षदेखि विभेद् गरिएको समुदायमाथि झनझन अपराधका घटना घट्नु लज्जास्पद भएको दलित अधिकारकर्मी वसन्तकुमार विश्वकर्माले जनाए । ‘समयमै राज्यले यस्ता अमानवीय अपराधिक गतिविधिको निराकरण गर्नुपर्छ,’ उनले भने, ‘दलितमाथि जातीय विभेद् गर्ने, अन्याय भयोभन्दा ज्यान मार्ने धम्की दिने, नाबालक दलित बालिकामाथि जबरजस्ती करणी गर्ने, गर्भपतन गराउने र कानुनलाई हातमा लिई जघन्य अपराध गर्नेलाई कडा कारबाही गर्नपर्छ ।’

पीडकलाई कानुनी दायरामा ल्याउँदा मात्र पीडितले न्यायको आभास पाउने उनको भनाइ छ । यो उएटा उदाहरण भए पनि यस्ता थुप्रै घटना आर्थिकरूपमा मिलापत्र हुने गरेको उनले बताए ।साभार :नागरिक