☰ open Loading... 2 May 2024|  

प्रतिबन्धित लागुऔषध अफिमको खुलेआम कारोबार
  | २६ कार्तिक २०७७, बुधबार १९:५३

नेपालगन्ज -प्रतिबन्धित लागुऔषध अफिमको कारोबार बाँकेमा खुलेआम रुपले हुने गरेको पाइएको छ। कोरोना भाइरस (कोडिभ–१९) महामारीको मौका छोपेर प्रतिबन्धित लागुऔषधको कारोबार यतिबेला बढेको हो। महामारीमा धेरै ब्यक्तिले आफ्नो रोजगारी गुमाएका छन्। कामका लागि भारत लगायत विभिन्न मुलुकमा जाने गरेका ब्यक्ति महामारीका कारण गाउँमै बेरोजगार बसिरहेका छन्।  

बेरोजगार ब्यक्तिहरु आफ्नो परिवारको खर्च जोहो गर्नकै लागि प्रतिबन्धित लागुऔषधको अवैध कारोबारमा सक्रिय भएको प्रहरीको ठहर छ। प्रहरीले गरेको अनुसन्धानबाट महामारीको समयमा लागुऔषध कारोबारी पछिल्लो समयमा सक्रिय भइरहेको पाइएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरिक्षक ओम राना पछिल्लो समयमा प्रतिबन्धित लागुऔषधको अवैध कारोबार बढेको बताउँछन्। ‘बाँके जिल्ला त्यसैपनि प्रतिबन्धित लागुऔषध कारोबारको लागि ट्रान्जिट प्वाइन्ट मानिन्छ, अहिले कोरोना महामारीको समयमा यसको कारोबारी झनै बढेका छन्,’ उनले भने ‘लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न हामी पनि उत्तिकै सक्रिय भइरहेका छौं।’

लागुऔषधको अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले विशेष सतर्कता अपनाएको र धेरै सफलता पनि प्राप्त गरिसकेको एसपी राना बताउँछन्। पछिल्लो समयमा बाँके प्रहरीले थुप्रै कारोबारीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइसकेको उनको दाबी छ। यसैक्रममा खुलेआम कारोबार भइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले ७ किलो अफिमसहित २ जनालाई पक्राउ गरेको छ।  

कोहलपुर नगरपालिका वडा नम्बर २ बसपार्कस्थित भेरी गेष्ट हाउसको कोठा नम्बर १०५ बाट मंगलबार दुई जनालाई पक्राउ गरेको हो। लागुऔषध अफिमको कारोबार भईरहेको भन्ने सूचनाका आधारमा शंकास्पद अवस्थामा रहेका जाजरकोट नलगाढ नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय जयबहादुर सिंह र सोही ठाउँ निवासी ३३ वर्षीय बीरेन्द्रमान सिंहलाई पक्राउ गरिएको प्रहरी प्रमुख रानाले जानकारी दिएका छन्।  

पक्राउ परेका दुबै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको छ। ‘कालो रंगको झोलाभित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा रहेको गिलो लागुऔषध अफिम जस्तो पदार्थ तौल गर्दा ७ किलो फेला पारेर बरामद गरेका छौं,’ रानाले भने ‘पक्राउ गरेका विरुद्ध आवश्यक अनुसन्धान एवम् कारवाही अगाडी बढाइएको छ।’ लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्षदेखि जन्म कैद  र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानुनी ब्यवस्था छ।नागरिक दैनिक बाट