☰ open Loading... 17 May 2024|  

प्रमाणपत्र बिना हाकिमले छोरीलाई बनाए, सब ईन्जिनियर
  | २५ मंसिर २०७७, बिहीबार १४:२१

सुर्खेत । सव ईन्जिनियर पदका लागि आवश्यक प्रमाणपत्र विनै गाउँपालिकाले नियुक्ति गरेको पाइएको छ । सुर्खेतको सिम्ता गाउँपालिका कार्यालयमा विमला रानालाई ‘रिजल्ट वेइटिङ’ पत्रको आधारमा नियुक्ति गरिएको हो ।

‘रिजल्ट वेइटिङ’ भन्नाले परिक्षामा सहभागी भएको तर नतिजा पास वा फेल भन्ने एकिन नभएको जानकारी पत्र हो । यद्यपी सोही पत्रलाई नै आधार मानी गाउँपालिकाले रानालाई नियुक्ति गरेको हो ।

गाउँपालिकाले रानालाई प्राविधिक शाखाको सहायक स्तर पाचौं तह (सव ईन्जिनियर) पदमा ज्यालादारीमा नियुक्ति गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर रानाले बताए । सव ईन्जिनियर राना अधिकृत रानाकी आफ्नै छोरी हुन् ।

अधिकृत रानाले रिजल्टको पर्खाइमा रहेकी छोरीलाई सोझै नियुक्ति गरेको स्वीकार गरेका छन् । रानाका अनुसार कानुनी प्रकृयाभन्दा पनि व्यवहारिक रूपमा छाेरीलाइ नियुक्ति गरेकाे बुझिन्छ ।

रानाले सव ईन्जिनियर पदका लागि विज्ञान विषयमा प्रमाणपत्र तह उर्तीणका प्रमाणपत्र पेश गरेकी छन् । यद्यपी प्राविधिक तर्फको सव ईन्जिनियर पदमा नियुक्ति हुनका लागि सिभिल ईन्जिनियरिङ्ग विषयमा डिप्लोमा तह अनिवार्य पास गरेको हुनुपर्छ । तर राना पास हुने वा नहुने भन्ने एकिन छैन ।

रानाले राप्ति ईन्जिनियरिङ्ग कलेजद्वारा प्राप्त रिजल्ट पखाईको पत्र (वेइटिङ लेटर) पेश गरेकी छन् । उक्त पत्र अनुसार रानाको शैक्षिक वर्ष सन् २०१५ रहेको छ । कलेजका प्रिन्सिपल रेशम गिरीका अनुसार राना सिभिल ईन्जिनियरिङ्ग विषयमा पास भएकी छैनन् ।