☰ open Loading... 26 April 2024|  

जग्गा किर्तेमा संग्लन १० जना पक्राउ
  | ८ माघ २०७७, बिहीबार ०७:३२

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ६ का स्थानीय सौगात रावतको नाममा रहेको जग्गा अनाधिकृत रुपमा नामसारी गरि आफ्नो नाममा लिने मुख्य व्यक्ति सहित १० जना आरोपी पक्राउ परेका छन् । जग्गाधनी रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गरेको पाइएपछि उक्त कार्यमा संलग्न व्यक्तिउपर कारबाहीको माग गर्दै रावतले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठगी सम्बन्धी कसुरमा मुद्धा दर्ता गराएका थिए । सोही मुद्धाको आधारमा उनिहरुलाई छानविनका लागि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सौगात रावतको नामबाट आफ्नो नाममा नामसारी लिने दैलेख महाबु गाउँपालिका–३ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्दै आएका सहबीर कार्की, जग्गा नामसारी गर्दा किनाराका साक्षी बस्ने नारायण थापा र चादनी वली, सहबीर कार्कीको नाममा जग्गा नामसारी भइसकेपछि उनको एक कित्ता आफ्नो नाममा लिने छत्र बहादुर थापालाई बुधबार राती १२ बजे पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । यस्तै, मालपोत कार्यालय सुर्खेतका कम्प्युटर फाँटका लक्षमण राना र दिपेन्द्र श्रेष्ठ बुधबार दिउँस पक्राउ परेका छन् भने यसअघिनै नायव सुब्बा विश्वरुप सावत र लेखापठी व्यवसायी अम्मरसिं कटुवाल पक्राउ परेका थिए ।

यस्तै, जग्गा नामसारिका लागि सिफारिस गर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का कार्यवाहक वडाअध्यक्ष राम प्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जग्गा धनीलाई थाहै नदिई जग्गा खरिद–विक्रि भएको अवस्थामा सरकारी कागज किर्ते र ठगी मुद्धा हुन्छ । सरकारी छाप, फाईल, महत्वपूर्ण सरकारी कागजातको दुरुपयोग गरेको खण्डमा उक्त कार्यमा संलग्न वडा कार्यालय, नापी कार्यालय हुँदै मालपोत कार्यालयका कर्मचारीसम्म कारवाहीको भागिदार हुन्छन् ।

जग्गा नामसारि र कित्ताकाट गर्दा,

जग्गा खरिद बिक्रीको स्वीकृति नगरपालिका र वडा कार्यालयबाट भएको छ वा छैन,

जग्गाधनी श्रेस्ता र पुर्जामा कसको फोटो टाँसिएको छ,

जग्गाधनीको नागरिकताको फोटोकपी संलग्न रहेको छ छैन,

रजिष्ट्रेसन डायरीमा सबै रेकर्ड दर्ता छ छैन,

तयार भएको लिखतमा मोठ र रोक्का भिडाउँदा कसरी भिडाइयो ? भिडाउने फाँटवाला कर्मचारीको नाम, पद, सहिछाप र मिति छ छैन,

मोठ रोक्का भिडाइ सकेपछि नापी कार्यालयलाइ आदेश दिने कर्मचारीको नाम, पद र सहि छाप छ छैन, त्यसको लगत कार्यालयको अभिलेख रजिष्ट्रेसन फाँटमा राखिएको छ छैन,

नापी कार्यालयमा लिखत पुगेपछि श्रेस्तामा वा स्थलगत कित्ताकाट हुँदा खरिद बिक्रीकर्ता दुवैजनाको रोहवर सहिछाप भएको छ छैन,

कित्ताकाट गर्ने अमीन र कार्यालय प्रमुखको प्रमाणित छ छैन,

लिखत तयार गर्दाका साँक्षी र पारित गर्नु पुर्वका सनाखत साँक्षीहरुको नाम,थर,वतन,नागरिकता प्रमाण पत्र नम्बर, सहिछाप छ छैन,

सम्पुर्ण रुपमा लिखत तयार भै पारितको लागि योग्य भएपछि त्यसमा फाँटवाला, तहरीर पारित कर्ता कर्मचारीको प्रमाणित भएको छ, छैन,

लिखत पारित भएपछि दाखिल खारेज गर्दा श्रेस्ता पुर्जा तयार गर्ने र प्रमाणित गर्ने कर्मचारीको नाम, थर दर्जा र अधिकार प्रत्यायोजनको अवस्था के कस्तो छ,

लगायतका कुराहरुमा अनुसन्धान गर्नुपर्ने अधिवक्ताले बताएका छन् । यसमा संलग्न सम्बन्धित सबै फाँट, कार्यालय र व्यक्तिहरु अनुसन्धानको दायरमा ल्याई छानबिन गरि सर्वसाधारणमा भएको जग्गा किर्तेसम्बन्धि मालपोतप्रति अविश्वास हटाउनुपर्ने सुझाव उनिहरुको सुझाव छ ।

यस्तै, जग्गाधनी सौगात रावतले आफै उपस्थित भएर डिजिटल औठा छाप र फोटो खिचाएको कुरा संचारमाध्यामा आएपछि उक्त फोटो र डिजिटल औंठा छाप सुरुवातमा दिपक सिंह रजवारबाट जग्गा आफ्नो नाममा नामसारि गर्दा मिति २०७६ मंसिर १ गते लिइएको पुरानो तस्वीर र औठा छाप भएको बताए ।