☰ open Loading... 4 May 2024|  

आठ लाखमा बनेको सिंचाई पोखरी पानी नहाल्दै चर्कियो
  | ९ फाल्गुन २०७७, आईतवार २०:२२

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को गुनापानीमा निर्माण गरिएको सिंचाई पोखरीको पानी नहाल्दै पर्खाल चर्किएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले निर्माण गरेको सिंचाई पोखरीमा कमसल मसलाको प्रयोग गर्दा पोखरी चर्किदै गएको हो । जंगल नजिक गुनापानी खोलाको पानी सिंचीत गरि बनाइएको परम्परागत पोखरीबाट कृषि गर्दै आएपछि उक्त पोखरीको ठाउँमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले पक्की पोखरी निर्माण गरेको थियो । यद्यपी उक्त पक्की पोखरीमा कमसल मसलाको प्रयोग गर्दा पर्खाल चर्किएर पानी भरिएको अवस्थामा पोखरी फुटेर बस्ती जोखिम पर्ने खतरा देखिएको छ । पोखरी निर्माणका क्रममा पक्की सिमेन्टको पर्खाल लगाउनुपर्ने भएपनि उक्त पोखरीमा माटोको गाह््रो प्रयोग गरी पर्खाल निर्माण गरिएको छ । यतिमात्रै होइन, उक्त पर्खालमा माटोको गाह्रो लगाएको पत्ता नलागोस् भनेर बाहिरबाट देखिने भागमा सिमेन्ट प्लास्टर समेत गरिएको छ । जनजागृती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेत रहेका स्थानीय प्रेम सुनार उक्त पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन् । तोकिएको प्राविधिक स्टमेटभन्दा कम मात्रामा सिमेन्ट, गिटि, बालुवा लगायतको मिश्रण कम हुँदा पोखरी चर्किएको स्थानीय पदमलाल ढकालले जानकारी दिए । ‘सिंचाई पोखरी निर्माणमा गर्दा कमसल मसलाको प्रयोेग गर्दा बस्तीमा जोखिम बढेको छ ।’ उनले भने,‘पोखरीमा पानी हाल्दा बस्ती पोखरी फुटने निश्चित छ । यहाँ रहेका ७ वटा घर जोखिम रहेका छन् ।’ पोखरी निर्माण गर्दा स्थानीयले तोकिएको प्राविधिक स्टमेटअनुसार निर्माण गर्न सुझाव दिएपनि निर्माण गर्ने उपभोक्ता समितिले कमसल निर्माण सामग्री प्रयोग गरेको ढकालको भनाई छ । ‘माटोको गाह््रो लगाएर पर्खाल निर्माण गरियो ।’ उनले भने,‘तर, त्यो प्रयोग नगर्न मैले सुझाव दिएको थिए, मानेनन् ।’ सात लाख ७२ हजारमा लागतमा पोखरी निर्माण गरिएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको कार्यक्रम कार्यन्वयन इकाई लम्की, कैलालीले जनाएको छ । उपभोक्ता समितिललाई सबै रकम भुक्तानी भइसकेको र पर्खाल चर्किएको खबर पाएपछि पुर्ननिर्माण गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको कार्यक्रम कार्यन्वयन इकाई लम्की, कैलालीका वन÷जलाधार विज्ञ सुरज थापाले बताए । ‘पहिला नै सबै रकम भुक्तानी भइसकेको छ ।’ उनले भने,‘मौखिक रुपमा मैले निर्माण गर्ने उपभोक्ता समितिलाई पुर्न निर्माण गर्न भनिसकेको छु । अबको एक दुई दिनमा नै पुर्ननिर्माणको काम शुरु हुन्छ ।’ पोखरी निर्माणमा कामदारका कारणले पनि समस्या भएको हुन सक्ने विज्ञ थापाले जानकारी दिए । ‘कामदारका कारणले पनि निर्माणमा समस्या भएको हुनसक्छ ।’ उनले भने,‘निर्माण गरिएकै दिनमा पानी खसालेका कारणले समस्या आएको हो ।’