☰ open Loading... 21 May 2024|  

‘अधिकार–२ परियोजना’ परिचय कार्यक्रम र सञ्जाल गठन
  | २३ माघ २०७८, आईतवार ०५:५४

दैलेख – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले दैलेखमा मानव अधिकार सवाल प्रवद्र्धन गर्न दुल्लू नगरपालिका र आठबीस नगरपालिकामा स्थानीय अधिकारकर्मी र सामाजिक अभियन्ताहरुको नेतृत्वमा चार ओटा मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ । ‘अधिकार–२ परियोजना’ अन्तरगत मानव अधिकारका विभिन्न क्षेत्रलाई एकीकृत रुपमा प्रभावकारी रुपमा उठाउदै उपेक्षित, उत्पीडित र पिछडिएको जाति, वर्ग, क्षेत्र र समुदायको न्यायको निम्ति पहल कदमी गर्ने मुख्य उद्देश्यले दुइटै नगरपालिकामा भौगोलिक अनुकुलता हुने गरी दुई–दुई ओटा सञ्जाल गठन गरिएको छ ।

माघ २० गते दुल्लूमा क क्लष्टका वडा नं. ५, ६, १०, ११, १२ र १३ बाट प्रतिनिधित्व गर्दै वडा नं. १० की गीता सुनारको संयोजक, वडा नं. १३ का नैनसिंह बिश्वकर्मा सहसंयोजक रहेको ७ सदस्यीय मानव अधिकार रक्षक सञ्जाल गठन भयो । क क्लष्टर क्षेत्रका वडा नं. ५ का पूर्णबहादुर थापा, वडा नं. ६ का प्रेमबहादुर मेनाल, वडा नं. १० का हिरा सुनार, वडा नं. ११ की पार्वती कसेरा र वडा नं. १२ का धरमबहादुर सुनार सञ्जालको सदस्य बनेका छन् । त्यस्तै त्यही दिन १, २, ३, ४, ७, ८ र ९ समेत ६ ओटा वडाको ख क्लष्टरमा दुल्लू नगरपालिका वडा नं. ९ का कलमबहादुर नेपाली संयोजक र वडा नं. ३ की मोतिकला कार्की सहसंयोजक रहेको ९ सदस्यीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । ख क्लष्टर स्तरीय मानव अधिकार रक्षक सञ्जाल सदस्यहरुमा वडा नं. २ की निर्मला बिक, वडा नं. ३ का पवन खनाल, वडा नं. ४ का गणेश बिक, वडा नं. ८ की माया भण्डारी, दुर्गबहादुर नेपाली, वडा नं. ९ की देउरुपा सार्की, टेकबहादुर सुजी चयन भएका छन् । इन्सेकले माघ २१ गते आठबीस नगरपालिकाको वडा नं. ९ ओटै वडा समेटेर गरिएको ‘अधिकार–२ परियोजना’ अन्तरक्रियापछि दुई ओटा भौगोलिक क्लष्टर छुट्टयाएर स्थानीय अधिकारकर्मीहरुको छलफलबाट दुई ओटा मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ ।

आठबीस नगरपालिकाको वडा नं. १, २, ३, ४ र ८ क क्लष्टरमा वडा नं. ८ का बिमल बोहराको संयोजकत्वमा ७ सदस्यीय सञ्जाल गठन गरेको छ । सहसंयोजकमा वडा नं. १ की जौधरा आचार्य छिन् । क क्लष्टर सञ्जालको अरु सदस्यहरुमा आठबीस नगरपालिका वडा नं. १ का डम्वर बिक, वडा नं. २ की चन्द्रा शाही, वडा नं. ४ का सिर्जना माझी, जमुना माझी र वडा नं. ८ का प्रेमबहादुर बिक चयन भएका छन् । माघ २१ गतेको छलफलबाट आठबीस नगरपालिका वडा नंं ५, ६, ७ र ९ समेटिएको ख क्लष्टरका ४ ओटाबाट प्रतिनिधित्व हुने गरी वडा नं. ८ की पवित्रा थापा संयोजक, वडा नं. ७ का रामबहादुर बिक सहसंयोजक, वडा नं. ७ की राधिका नेपाली र वडा नं. ९ का टेकबहादुर बिक सदस्य चयन भएका छन् । दुल्लूमा भएको कार्यक्रममा दुल्लू नगरपालिकाका उपमेयर बिष्णुकुमारी थापाले कमजोरहरुको न्यायको निम्ति मानव अधिकार क्षेत्रमा अनुभवी संस्था इन्सेकले परियोजना सञ्चालन गर्न लागेकोमा खुशी प्रकट गर्दै नगरपालिका सधैं सहयोगी रहने बताइन् ।

आठबीसमा भएको ‘अधिकार–२ परियोजना’ परिचय कार्यक्रममा नगरपालिकाका उपमेयर दीपा बोहराले प्रहरी–प्रशासन लगायतको राज्य संयन्त्र, राजनीतिक दल र कतिपय जनप्रतिनिधि समेत पीडकको संरक्षणमा जुट्ने गलत प्रचलनका कारण पीडितको न्याय कमजोर बनेको टिप्पणी गरिन् । दुई ओटै कार्यक्रममा ‘अधिकार–२ परियोजना’का कार्यक्रम संयोजक किरण पौडेल, कार्यक्रम अधिकृत परिस्कृत पौडेल, इन्सेकको इएलपी कार्यक्रमका कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले इन्सेकको मानव अधिकार सवलीकरण अभियान र परियोजाले गर्ने काम बारे प्रकाश पारेका थिए ।

मानव अधिकारका स्थानीय सवालहरु लैंगिक हिंसा, जातीय विभेद, छाउपडी प्रथा, कथित बोक्सी आरोप जस्ता कुरीति हटाउनुसंगै अपाङ्गता समस्या भोगेकाहरु, बालबालिका र ज्येष्ठ नागरिकहरुलाई प्रवद्र्धनका निम्ति नागरिक स्तरबाट अगुवाइ गर्न मानव अधिकार रक्षक सञ्जालको क्षमता विकासमा परियोजनाले सघाउने बताइएको छ । इन्सेकले ‘अधिकार–२’ परियोजना कर्णाली प्रदेशका १० ओटै जिल्लामा लागू गरे पनि दैलेखको दुल्लू नगरपालिका, आठबीस नगरपालिका र सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा समुदाय स्तरमा मानव अधिकार प्रवद्र्धनका कार्यक्रमहरु हुनेछन् ।