☰ open Loading... 17 May 2024|  

आठविसकोट नगरपालिकाको ६७ करोड बराबरको बजेट नगरसभामा पेश
  | ११ असार २०७९, शनिबार ०६:१७

रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ६७ करोड बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यस्तै, शुक्रबार पालिकाको आर्थिक बर्ष २०७९/०८० को नीति कार्यक्रम तथा बजेट नगर सभामा प्रस्तुत गरिएको छ । पहिलो नगरसभामा नगर प्रमुख रवि केसीले आर्थिक बर्ष २०७९/०८० नीति तथा कार्यक्रम पेश गरेका थिए भने नगर उपप्रमुख धनकुमारी शाहीले आर्थिक बर्ष २०७९/०८० को बजेट बक्तब्य पनि नगर सभामा पेश गरेकी थिइन् ।

 

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि तथा पसुपालन लाई पहिलो प्राथमिकता दिइएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगार, सडक, खानेपानी तथा सरसफाइ, सिचाँइ, युवा तथा खेलकुद, वन तथा वाताबरण, बिद्युत लगायतका कार्यक्रमहरु समाबेश गरिएको छ । त्यसैगरी सुचना र सञ्चार, कला, संस्कृति, सहकारी, पर्यटन र औद्योगिक बिकास निर्माण लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।

कूल विनियोजन रकम मध्ये चालु तर्फ ४४ करोड ३३ लाख २५ हजार ४ सय ५० रुपैयाँ अर्थात ६५.५४ प्रतिशत रकम, पुँजीगत तर्फ २३ करोड २९ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ अर्थात ३४.४६ प्रतिशत रकम विनियोजन गरिएको छ । जसमा कृषि तथा पशुपालन तर्फ २ करोड १६ लाख, उद्योग तथा वाणिज्य तर्फ ३० लाख, शिक्षा तर्फ २२ करोड ८० लाख, युवा तथा खेलकुद १६ लाख, स्वास्थ्य तर्फ ५ करोड ८९ लाख ८९ हजार, सडक तथा पुल पुलेसा तर्फ ४ करोड ८५ लाख र सिंचाइ खानेपानी तथा सरसफाइ तर्फ २ करोड ३ लाख विनियोजन गरिएको छ ।

 

त्यस्तै, विद्युत तथा बैकल्पिक उर्जा तर्फ १२ लाख, सूचना तथा सञ्चार तर्फ ३० लाख, भवन तथा सहरी आवास तर्फ ८ करोड ५७ लाख, धर्मिक सांस्कृतिक तथा पर्यटन तर्फ २ करोड २९ लाख, सहकारी गरिवी निवारण तथा रोजगार व्यवस्थापन तर्फ २ करोड २९ लाख, वन तथा वातावरण भु–संरक्षण, विपत तथा फोहोरमैला व्यवस्थापन तर्फ ४५ लाख, संस्थागत विकास सुशासन तथा सेवा प्रवाह तर्फ ११ करोड ५० लाख, वडा गत विनियोजन तर्फ ३ करोड र आठविसकोट नगरपालिकामा रहेका करार कर्मचारीहरुलाई २ हजारले तलब वृद्धि गरिएको छ ।

 

नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा छलफल गर्नका लागि भने नगरसभाको अर्को बैठक बस्ने भएको छ । बिषयगत समिति र कार्यपालिका लगायत सबैतिर छलफल गरी पुनः बस्ने नगर सभाको बैठकले नीति तथा कार्यक्रम र बजेट पास गर्ने बताइएको छ । नगरपालिकाले नगरभित्रको कृषि, पशुपालन शिक्षा, स्वास्थ्य, आवास र रोजगारी जस्ता आधारभुत मानवीय आवश्यकता परिपुर्ती गर्ने र त्यस्ता क्षेत्रहरुको विकास र पवद्र्धन गर्ने, कृषी, पर्यटन, जलस्रोत र घरेलु उद्योगको क्षेत्रमा पुँजी परिचालन गर्ने, आर्थिक भौतिक र सामाजिक पूर्वाधारको विकास गरी समृद्ध नगरपालिका बनाउने अभियानलाई गति दिन कृषि क्षेत्र लाई नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ ।