☰ open Loading... 17 May 2024|  

तलब नपाएका पत्रकारहरुको आन्दोलनमा पत्रकार महासंघको ऐक्यबद्धता
  | ११ असार २०७९, शनिबार ०६:४४

रुकुम पश्चिम / डेढ बर्षसम्म रेडियोमा काम गरेर पारिश्रमिक नपाएका रुकुम पश्चिमका पत्रकारहरुको आन्दोलनमा पत्रकार महासंघले ऐक्यबद्धता जनाएको छ ।

जिल्लाको आठविसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपाल (९८.२ मेगाहर्ज) मा कार्यरत ६ जना पत्रकार तथा कर्मचारीहरुले लामो समयदेखि पारिश्रमिक नपाएपछि सुरु भएको बिरोध कार्यक्रममा ऐक्यबद्धता जनाउँदै महासंघले एक विज्ञप्ती जारी गरेको छ । पीडित पत्रकारहरुले सुरु गरेको आन्दोलनका कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुम शाखा ऐक्यबद्धता रहेको अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभएको छ ।

पत्रकार महासंघ रुकुम शाखाले एक बर्ष अघि रेडियो संचालक समिति र पीडित पत्रकारहरु बीच पटकपटक छलफल गराएको जानकारी गराउनु हुुँदै अध्यक्ष केसीले बाँकि रहेको दश लाख रकम दिने सहमति गरिएतापनि हालसम्म नदिईनु दुःखद् भएको बताउनुभयो ।

श्रमजीवि पत्रकारहरुलाई श्रमशोषण गर्नु निन्दनिय रहेको जनाउँदै अध्यक्ष केसीले आम नागरिकहरुको सुचना र अधिकार सुसुचित गराउने जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरिरहेका सञ्चारकर्मीहरु पारिश्रमिकका नदिने कार्यले कानुनी राज्यको उपहास गरेको बताउनुभयो । पारिश्रमिक तत्काल उपलब्ध गराउन आग्रह गर्नुहुँदै उहाँले अझै पनि वेवास्ता गरिएमा थप कानूनी उपचार र आन्दोलनका कार्यक्रम सशक्त रुपले अघि बढाईने उल्लेख गर्नुभयो ।

प्रेस युनियनले कानूनी लडाईमा साथ दिने

पत्रकारहरुले पारिश्रमिक नदिएको घटनाको प्रेस युनियन रुकुमले बिरोध जनाएको छ । सञ्चारकर्मीहरुले २०७५ साल असार महिना देखि २०७७ साल जेठ महिना सम्म काम गरेको पारिश्रमिक नपाएको घटनाप्रति नेपाल प्रेस युनियन रुकुम पश्चिमले गम्भिर ध्यानार्कषण भएको जनाएको छ । अध्यक्ष दिनेश खड्काले श्रमजिवि पत्रकारहरुको आर्थिक अधिकारका लागि निरन्तर आन्दोलनमा रहनुभएका सञ्चारकर्मीहरुको आन्दोलमा ऐक्यबद्धता जनाउदै थप कानुनी उपचारमा जानुपर्ने अवस्था उत्पन्न भएमा श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि निःशुल्क कानुनी उपलब्ध गराउन समेत प्रतिवद्ध रहेको एक विज्ञप्ती मार्फत जानकारी गराउँनुभएको छ ।

यसैबिच प्रेस चौतारी नेपाल रुकुमले पनि एक विज्ञप्ती जारी गरेर पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेको छ । जिल्ला सचिव टेकबहादुर रोकाले पीडित पत्रकारहरुको आन्दोलनमा ऐक्यबद्धता रहेको जनाउनुहुँदै पत्रकारहरुलाई श्रमको मूल्य दिन आग्रह गर्नुभयो ।