☰ open Loading... 28 April 2024|  

दुर्गममा पनि ‘मोबाइलको कुलत’
पश्चिम नेपाल   | २ चैत्र २०८०, शुक्रबार ११:०२

प्रविधिको विस्तारसँगै पछिल्लो समय सबैको हातहातमा मोबाइल फोन पुगेको छ। यसबाट विभिन्न सूचना आदानप्रदान तथा कुराकानीमा सहज त भएको छ तर विभिन्न फाइदासँगै कतिपय अवस्थामा यसको सही सदुपयोग हुन नसक्दा हानि पनि हुने गरेको छ।

मोबाइल फोनको बढ्दो प्रयोगसँगै पछिल्लो समय दुर्गमका बालबालिकामा मोबाइलको लत बस्ने, ध्यान मोबाइलमै राख्ने जस्ता समस्या भएको खाँडाचक्र नगरपालिका–१ का युवा व्यवसायी विनोद शाहीले बताए।

मोबाइलको बढी प्रयोग गर्नाले बालबालिकामा बोली ढिलो आउने र मोबाइलको लत बसेपछि मानसिक, शारीरिक तथा सर्वांगीण विकासमै समस्या आउन सक्ने स्वास्थ्य सेवा कार्यालय कालिकोटका डाक्टर संकेत विश्वर्कमाले बताए।

उनका अनुसार बालबालिकामा मोबाइलको लत लाग्नुमा अभिभावकले अधिक मोबाइल चलाउनु पनि एउटा कारण भएको बताए।

उनले भने, ‘बालबालिका तथा किशोरकिशोरीमा मोबाइलको लत अहिले विश्वव्यापी समस्याका रूपमा देखिएको छ। यद्यपि ती बालबालिकासँग मात्र जोडिएको नभई अभिभावकको आनीबानीसँग पनि सम्बन्धित रहेको छ।’

विशेषगरी किशोरकिशोरीमा मोबाइलको अति लतका कारण डिप्रेसनको समस्या, बालविवाह जस्ता समस्या देखिने गरेको छ। त्यस्तै कतिपय बालबालिकालाई सामाजिक सञ्जालकै माध्यमबाट ‘बुलिङ’ र यौन दुव्र्यवहार भएका घटना पनि देखापरेका छन्।

पछिल्लो समय बालबालिका मात्र नभई अभिभावक पनि मोबाइलको लतले डिप्रेसनमा पुग्ने गरेका छन्। युवायुवतीमा सामाजिक सञ्जालकै प्रयोगले गर्दा धेरै समस्यासमेत थपिने गरेको पाइन्छ। सामाजिक सञ्जालक र मोबाइलको बढ्दो प्रयोगले धेरैजसो किशोरीहरू सिकार हुने गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सूचना जारी गर्दै बालबालिकालाई मोबाइलको लत नलगाउन अभिभावकलाई सुझाव दिँदै आएको छ। मन्त्रालयले जारी गरेको सूचनामा पनि मोबाइलको लतले बालबालिकाको सर्वांगीण विकासमा असर पर्ने जनाइएको छ।

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्। त्यसकारण पोषणसम्बन्धी समस्या, पाचन प्रणालीमा समस्या हुन सक्छ।

खाना खुवाउँदा अभिभावकले बच्चासँग कुराकानी गरेर, डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ। मोबाइलको लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जान सक्छ। उनीहरू रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छ।

सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।

मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा यसले बालबालिकाको सर्वांगीण विकासमै असर पुर्‍याउँछ।

नागरिकन्यूजबाट